कार्यकारी अध्यक्ष नियुक्तिसँगै नियमित काममा फर्किए वायु सेवा निगमका कर्मचारी
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका कर्मचारी नियमित काममा फर्केका छन् ।
काठमाडौं, कात्तिक १९ : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका कर्मचारी नियमित काममा फर्केका छन् ।
गत चार महिनादेखि निगमले प्रक्रियागत एवं संस्थागत निर्णय गर्न सकेको थिएन । निगमका कार्यकारी अध्यक्ष नियुक्तिसँगै तत्काल गरिनुपर्ने आवश्यक विषयमा नीतिगत निर्णयसहितको गतिशीलता प्रदान गरिएको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।
निगमलाई कम्पनी मोडलमा लैजान लागिएको विरोधमा निगमभित्र कर्मचारी ट्रेड युनियनले १०४ दिनसम्म आन्दोलन गरेका थिए । निगमका महाप्रबन्धक १०२ दिनसम्म कार्यालय पुग्न सकेका थिएन । त्यसको परिणामस्वरूप निगम कार्यकारी समितिको बैठक २९ असार र निगम सञ्चालक समितिको बैठक ३१ असारदेखि बस्न सकेका थिएनन् ।
गत ११ कात्तिकमा सरकारले निगमकै पूर्वनिर्देशक युवराज अधिकारीलाई कार्यकारी अध्यक्ष नियुक्ति गरेको थियो । कार्यकारी अध्यक्ष अधिकारी र संयुक्त ट्रेड युनियनसँगको संवादबाट सिर्जित सहकार्यपछि १४ कात्तिकमा कार्यकारी समितिको बैठक बसी महत्त्वपूर्ण निर्णय गरी कार्यान्वयनमा आएको निगमले जनाएको छ ।
यस्तै, १७ कात्तिकमा सञ्चालक समितिको बैठक बसी सञ्चालक समितिले निगमको लागि तत्काल अत्यावश्यक मानिएको विषयमा नीतिगत निर्णयसहितको गतिशीलता प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ । सञ्चालक समितिको निर्णय निगमको कार्यसञ्चालनका लागि अत्यावश्यक हुने र उक्त निर्णयले विभागीय कार्यसञ्चालनजस्ता महत्त्वपूर्ण विषयसँग प्रत्यक्ष सम्बन्ध राख्ने निगमका प्रवक्ता करिश्मा श्रेष्ठले बताइन् ।











