सवारी दुर्घटनाहरूमा ५ जनाको मृत्यु
जाजरकोट, छेडागाड नगरपालिका–१ ध्याप टाकुरास्थित सडकमा बा०५ख २५०१ नम्बरको मिनी ट्रक सडकबाट करिब २ सय ५० मिटर तल खसेर बिहीबार राति दुर्घटना हुँदा ट्रकमा सवार ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
काठमाडौं, कात्तिक १९ : जाजरकोट, छेडागाड नगरपालिका–१ ध्याप टाकुरास्थित सडकमा बा०५ख २५०१ नम्बरको मिनी ट्रक सडकबाट करिब २ सय ५० मिटर तल खसेर बिहीबार राति दुर्घटना हुँदा ट्रकमा सवार ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
साथै दुर्घटनामा घाइते भएका चालकसमेत अन्य ७ जनालाई जिल्ला प्रहरी, इलाका प्रहरी बडावन, इलाका प्रहरी दशेरा र प्रहरी चौकी छेडाको संयुक्त प्रहरी टोलीले उद्धार गरी उपचारको लागि सुर्खेततर्फ पठाएको छ ।
धनुषा क्षिरेश्वरनाथ नगरपालिका–४ हरैयास्थित सडकमा ज८प ७०७२ नम्बरको मोटरसाइकललाई प्रदेश २–०२–००४ प ९०२८ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा शुक्रबार बिहान दुर्घटना हुँदा प्रदेश २–०२–००४ प ९०२८ नम्बरको मोटरसाइकल चालक महोत्तरी भमरपुरा नगरपालिका–९ बस्ने २४ वर्षीय जितेन्द्रकुमार राय यादवको मृत्यु भएको छ ।
गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ज८प ७०७२ नम्बरको मोटरसाइकल चालक धनुषा गणेशमान चारनाथ नगरपालिका–६ बस्ने ३१ वर्षीय कृष्णकुमार साह, मोटरसाइकलमा सवार उनकै श्रीमती २३ वर्षीया कुसुमकुमारी साह र छोरा २ वर्षीय रिहानकुमार साहको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै, काभ्रे पाँचखाल नगरपालिका–६ तीनपिप्लेस्थित सडकमा बा३ख ९६८१ नम्बरको बसले वागमती प्रदेश ०२–०२२ प ९८४५ नम्बरको मोटरसाइकललाई शुक्रबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका–८ बस्ने २२ वर्षीय राम थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।











