कोरोना खोप तेस्रो डोज पनि लगाउन प्रधानमन्त्री देउवाको आह्वान
प्रधानमन्त्री शेरबहादुर देउवाल् कोभिड–१९ को संक्रमणबाट जोगिन कोरोनाविरुद्धको खोप तेस्रोपटक लगाउन आम जनतालाई आग्रह गरे । प्रधानमन्त्री देउवाले भने, ‘कोरोनाविरुद्धको पहिलो र दोस्रोपटक खोप लगाएकालाई पनि फेरि कोरोना संक्रमण भएको छ, तेस्रोपटक पनि खोप दिनुपर्ने भएको छ, मैले पनि दुईपटक मात्रै लगाएको छु, तेस्रोपटक लगाउनुपर्छ, तपाईँहरू पनि दुईपटक खोप लिएकाले तेस्रोपटक पनि लगाउनुहोस् ।’
काठमाडौं, कात्तिक १९ : कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको १४औँ महाधिवेशन समयमै गर्ने कि नगर्ने भन्ने कुरा आफ्नो हातमा नरहेको बताएका छन् ।
कांग्रेस भक्तपुरले शुक्रबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले निर्धारित समयमै महाधिवेशन होस् भन्ने आफ्नो चाहना भए पनि आफूले चाहेर मात्रै नहुने उल्लेख गरे । उनले भने, ‘समयमै महाधिवेशन हुनुपर्छ भन्ने मेरो पनि चाहना हो तर महाधिवेशन अब पार्टी सभापतिको हातमा छैन, कहिले गर्ने भन्ने निर्वाचन समितिको हातमा छ ।’ निर्वाचन समितिलाई मंसिरभित्रै सबै काम सक्नुस् भनेको उल्लेख गर्दै उनले समितिले छिटो काम सके महाधिवेशन समयमै हुन्छ, तोकेकै मितिमै हुन्छ भने ।
कसैको पनि कुरा नसुनी महाधिवेशनको तयारीमा लाग्न प्रधानमन्त्री देउवाले सबैलाई आग्रह गरे । उनले भने, ‘जसले जे भने पनि नपत्याउनुस्, महाधिवेशन निर्धारित समयमै हुन्छ, स्थानीय तहदेखि नै सकेसम्म सर्वसम्मत रूपमा नेतृत्व चयन गर्नुस्, सर्वसम्मत हँुदै भएन भने मात्रै स्वस्थ प्रतिस्पर्धामा जानुस् ।’
पार्टीको अधिवेशनमा जित–हार हुन्छ तर यसलाई दुश्मनीका रूपमा लिन नहुने बताउँदै देउवाले भने, ‘पार्टी अधिवेशन आउँदैछ, सर्वसम्मत रूपमा पार्टी सभापति छान्नुस्, जित हार हुन्छ, हार्नेले जित्नेलाई सहयोग र जित्नेले हार्नेलाई सहयोग गर्नुपर्छ, जित–हारबाट दुश्मनी नबढोस् ।’ उनले कोभिड–१९ को संक्रमणबाट जोगिन कोरोनाविरुद्धको खोप तेस्रोपटक लगाउन आम जनतालाई आग्रह गरे ।
प्रधानमन्त्री देउवाले भने, ‘कोरोनाविरुद्धको पहिलो र दोस्रोपटक खोप लगाएकालाई पनि फेरि कोरोना संक्रमण भएको छ, तेस्रोपटक पनि खोप दिनुपर्ने भएको छ, मैले पनि दुईपटक मात्रै लगाएको छु, तेस्रोपटक लगाउनुपर्छ, तपाईँहरू पनि दुईपटक खोप लिएकाले तेस्रोपटक पनि लगाउनुहोस् ।’











