प्रचण्डको जिपलाइन मस्ती, फाइदा धुलिखेलका पर्यटन व्यवसायीलाई
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कात्तिक पहिलो साता धुलिखेलस्थित जिपलाइनमा रमाउँदै गरेको भेटिए । उनी जति जिपलाइनमा रमाए, त्यसभन्दा दोब्बर खुशी उक्त साहसिक खेलका सञ्चालकहरूमा देखिएको छ । त्यसको कारण हो, कोरोना संक्रमण जोखिमका कारण संकटमा परेको पर्यटन क्षेत्रमा एकाएक तरंग पैदा हुनु ।
काभ्रे, कात्तिक १९ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कात्तिक पहिलो साता धुलिखेलस्थित जिपलाइनमा रमाउँदै गरेको भेटिए । उनी जति जिपलाइनमा रमाए, त्यसभन्दा दोब्बर खुशी उक्त साहसिक खेलका सञ्चालकहरूमा देखिएको छ । त्यसको कारण हो, कोरोना संक्रमण जोखिमका कारण संकटमा परेको पर्यटन क्षेत्रमा एकाएक तरंग पैदा हुनु ।
आरामका लागि परिवारसहित सिन्धुपाल्चोकको सुकुटे गएर बसेका प्रचण्ड भोलिपल्ट फर्कँदा धुलिखेलस्थित जिपलाइन खेलमा रमाएका थिए । उनको जिपलाइन खेलले धुलिखेलको पर्यटन क्षेत्रमा तरंग नै पैदा भएको छ । त्यतिबेला अध्यक्ष प्रचण्डले जिपलाइन खेलपछि आफूलाई ‘निकै रमाइलो महसुस’ भएको प्रतिक्रिया दिएका थिए । अहिले जिपलाइन खेल्न पर्यटकको घुइँचो नै लागेको छ ।
‘पूर्वप्रधानमन्त्री प्रचण्डले जिपलाइन चढेपछि यसमा चढ्ने आन्तरिक पर्यटकको संख्या ह्वात्तै बढेको छ, धुलिखेलमा जिपलाइन खेल छ भन्ने सन्देश पनि गएको छ,’ वर्ल्ड वाइड एडभेन्चर प्रालिका अध्यक्ष केदार थापाले भने । उनका अनुसार त्यसदिन अध्यक्ष प्रचण्ड स्वतःस्फूर्त जिपलाइन खेल्न स्टेसन पुगेका थिए । जिपलाइनको ‘टेकअफ’ धुलिखेल–८ थाक्लेडाँडादेखि ‘ल्यान्डिङ स्टेसन’ पाँचखाला–५ खावासम्म एक हजार १०० मिटर लम्बाइको छ । ०७५ सालको अन्त्यबाट सञ्चालनमा आएको जिपलाइनमा क्लासिक, सुपरम्यान र टेन्डम (जोडी) तीन प्रकारको खेल्न पाइन्छ ।
जिपलाइन खेलले मात्रै एक दिनको धुलिखेल घुमाई नसकिने भएकाले पर्यटकीय देवीस्थान र गोसाइँस्थान डाँडामा रमाउनु आन्तरिक पर्यटकको तालिका नै बन्ने गरेको पाइन्छ । ‘अहिले बिदामा साथी मिलेर जिपलाइन जाने र धुलिखेलका डाँडा घुम्ने गर्छौँ,’ भक्तपुरका अनिष थापाले भने । धुलिखेलको पर्यटनमा चाडपर्वले पनि चहलपहल बढाएको पाइएको छ । विषेशगरी भक्तपुर, काठमाडौं, ललितपुर र नुवाकोटबाट धुलिखेलमा आन्तरिक पर्यटक आउने गरेका छन् ।
भदौ दोस्रोे सातादेखि कोरोना संक्रमण ओरालो लाग्दै गर्दा धुलिखेलस्थित होटल सारथिका सञ्चालक प्रह्लाद प्याकुरेललाई होटल व्यवसाय तंग्रने आशा जागेको छ । त्यसयता होटलमा शुक्रबार र शनिबार चहलपहल बढ्दै बितेको एक महिनामा दैनिक आन्तरिक पर्यटकको आउजाउ पनि हुन थालेको उनले बताए । ‘भदौयता कार्यक्रमका बुकिङसँगै दैनिकजसो आन्तरिक पर्यटक आउन थालेका छन्,’ उनले भने ।
प्रक्षेपण गरिएअनुसार कोरोनाको तेस्रो लहर आउला–नआउला तर संक्रमणदर निकै ओरालो लागेपछि हाल धुलिखेलमा होटल–पर्यटन तंग्रने सुरसारमा रहेको देखिन्छ । ‘अब व्यवसायले रूप फेर्लाझैँ लागेको छ, कोरोनाको तेस्रो लहरको चिन्ता पनि उत्तिकै छ तर हाल होटल–पर्यटन सहज बन्दै गएको छ,’ उनले भने ।
५० बेड क्षमताको होटल सारथिले विभिन्न छुटसहितका प्याकेज कार्यक्रमसमेत सार्वजनिक गरेको छ । कोरोनाका दुईवटा लहरले होटल व्यवसायीलाई निकै ठूलो घाटा ब्यहोर्न बाध्य बनाइरहेका बेला पुनः तेस्रो लहरको महामारी प्रक्षेपण हुने खतरा बढेको धुलिखेलका होटल व्यवसायी बताउँछन् । यद्यपि, व्यवसाय लयमा फर्कनेबारे थप चिन्ताको भारी नबोकाएको भने होइन ।
अहिले बामे सर्दै गरेका होटल अब बन्द गर्न नपर्ने अपेक्षा गरेको क्षेत्रीय होटल संघ (हान)का अध्यक्ष प्रेमकण्ठ माकजू श्रेष्ठले बताए । ‘अब संक्रमणदर निकै घटेर होटल–पर्यटन व्यवसाय लयमा फर्कने भएपछि हामी निकै खुसी छौँ,’ धुलिखेल लज रिसोर्टका सञ्चालकसमेत रहेका श्रेष्ठले भने । दैनिक २०० को हाराहारीमा उहाँको रिसोर्टमा आन्तरिक÷बाह्य पर्यटक आउने गरेकामा कोरोनाको दोस्रो लहर वैशाखपछि साउनसम्म शून्यमै झरेको थियो । उनले भने, ‘अहिले दिनानुदिन आन्तरिक पर्यटक बढ्दैछन्, अब विदेशी पर्यटकको पर्खाइमा छौँ ।’
आन्तरिक–बाह्य पर्यटकबाट आत्मनिर्भरतातर्फ लागेको धुलिखेलको होटल–पर्यटन कोरोना प्रभावले निकै खस्कियो । धुलिखेलमा ठूला–साना गरी करिब ६० होटलमा एक हजार बेड क्षमता छन् । जिल्लास्थित धुलिखेलको होटल–पर्यटनमा मात्रै करिब रु ५० अर्बको लगानी रहेको ंघङ्घले जनाएको छ । यहाँ तीन हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।
कोभिड–१९ का कारण पर्यटन क्षेत्रले ब्यहोरिरहेको क्षति न्यूनीकरण गर्दै पुरानै लयमा फर्काउन होटल व्यवसायीले गत भदौ महिनामा विशेष तीन प्याकेजसमेत घोषणा गरेका थिए । गत वर्ष कोरोना संक्रमण घट्दा होटल–पर्यटनमा बढेको चहलपहलको आभास यो वर्ष पनि भएको हानका सचिव ज्योत्स्ना सैँजूले बताए । ‘दोस्रो लहरपछि पुनः हाल आन्तरिक पर्यटक बढ्दै गएका छन्, सरकारी खोप अभियानका कारण लयमा फर्कने अपेक्षाकृत छौँ,’ सैँजूले भने ।
पर्यटकीयस्थल धुलिखेल संघीय राजधानी काठमाडौंबाट ३० किलोमिटर टाढा पर्छ । राजधानीबाट नजिकको गन्तव्य भएकाले आन्तरिक र बाह्य पर्यटकका अलावा काठमाडौं, भक्तपुर र ललितपुरका आवासीय कार्यक्रमसमेत यहाँ हुने गर्छन् । रासस











