Kathmandu Press

‘सामुदायिक म्ह पूजा ११४२’ मनाउँदै खोकनावासी

‘मंकाः म्ह पूजा ज्याझ्व ११४२’ अर्थात् सामुदायिक म्ह पूजा  ११४२ खोकनामा शुक्रबार मनाइँदैछ। नेवार समुदायले हरेक वर्ष कात्तिक शुल्क प्रतिपदाका दिन गोवर्द्धन पूजासँगै म्ह पूजा तथा नेपाल संवतको नयाँ वर्ष मनाउने गरेको छ।
‘सामुदायिक म्ह पूजा ११४२’ मनाउँदै खोकनावासी
खोकनाको सामुदायिक म्ह पूजामा सहभागी विदेशी पर्यटक । फाइल तस्बिर

काठमाडौं, कात्तिक १९ : ‘मंकाः म्ह पूजा ज्याझ्व ११४२’ अर्थात् सामुदायिक म्ह पूजा  ११४२ खोकनामा शुक्रबार मनाइँदैछ । नेवार समुदायले हरेक वर्ष कात्तिक शुल्क प्रतिपदाका दिन गोवर्द्धन पूजासँगै म्ह पूजा तथा नेपाल संवतको नयाँ वर्ष मनाउने गरेको छ ।

उक्त सामुदायिक म्ह पूजा कार्यक्रम दुई वर्षअघि सुरु भएको मंकाः म्ह पूजा ज्याझ्वका आयोजक हरिनाथ डंगोल बताउँछन् । खोकनाको कोयलाछीमा उक्त सामुदायिक म्ह पूजा हुने गरेको छ । पूजा मौलिकताका साथ सम्पन्न हुने गरेको उनी बताउँछन् ।

कार्यक्रममा आन्तरिक र बाह्य पर्यटक पनि सहभागी हुन्छन् । त्यसका लागि टिकटको व्यवस्था गरिएको छ । नेपालीहरूका लागि १५ सय तथा विदेशी पर्यटकका लागि दुई हजार रुपैयाँ शुल्क तोकिएको डंगोल बताउँछन् । होमस्टेमा बस्न रुचाउने पर्यटकका लागि थप पाँच सय रुपैयाँ शुल्क तोकिएको छ ।

म्ह पूजा भनेको आफूले आफैँलाई पूजा गर्ने परम्परा हो । यो अहिले नेपालमा मात्र नभई विदेशमा पनि मनाइने गरेको छ ।

यसका साथै विभिन्न झाँकी तथा मण्डला प्रतियोगिता पनि सञ्चालन गर्ने गरिएको छ । प्रातःकालमा ‘न्हु दया’ अर्थात् नेपाल संवत नयाँ वर्षको उपलक्ष्यमा साइकल र्‍याली पनि हुने गरेको छ ।

साइकल र्‍यालीमा यस वर्ष करिब ५० जनाको सहभागिता रहने उनको अनुमान छ । सामुदायिक म्ह पूजा कार्यक्रमको आयोजनाका लागि ललितपुर महानगरपालिका र ललितपुर–१९ वडा कार्यालयले आर्थिक सहयोग गरेका छन् । नेपाल पर्यटक बोर्डले उक्त कार्यक्रमको प्रबर्द्धन गर्दै आएको छ ।

प्रकाशित मिति: १०:३९ बजे, शुक्रबार, कात्तिक १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्