सिरहा, अछाम, लमजुङ र धनुषामा आगलागीबाट लाखौँको क्षति
सिरहा लहान नगरपालिका–१ मिलन चोकका रञ्जन गुप्ताको घरमा ग्यास लिक भई बुधबार दिउँसो आगलागी हुँदा घर, लत्ताकपडा, फर्निचर, सुनचाँदी र नगदसमेत जलेर करिब सात लाख रुपैयाँको क्षति भएको छ ।
काठमाडौं, कात्तिक १८ : सिरहा लहान नगरपालिका–१ मिलन चोकका रञ्जन गुप्ताको घरमा ग्यास लिक भई बुधबार दिउँसो आगलागी हुँदा घर, लत्ताकपडा, फर्निचर, सुनचाँदी र नगदसमेत जलेर करिब सात लाख रुपैयाँको क्षति भएको छ ।
अछाम चौरपाटी गाउँपालिका–६ दुनिथलागडा बस्ने गगन साउदको घरमा करेन्ट सर्ट भई बिहीबार बिहान आगलागी हुँदा घर र नगद ७० हजार रुपैयाँ जलेर करिब चार लाख रुपैयाँबराबरको धनमाल नष्ट भएको छ ।
लमजुङ बेँसिशहर नगरपालिका–७ सहजीस्थित हाम्रो सिरक डस्ना उद्योगमा बिहीबार बिहान आगलागी हुँदा उद्योग पूर्ण रूपमा जलेर करिब २ लाख ३० हजार रुपैयाँबराबरको क्षति भएको छ ।
धनुषा गणेशमान चारनाथ नगरपालिका–९ बरमझियाका रामसागर यादवको घरमा खाना पकाउने क्रममा ग्यास लिक भई बिहीबार बिहान आगलागी हुँदा घर, अन्नपात, लत्ताकपडालगायत सामान जलेर करिब १ लाख ७५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । आगो निभाउने क्रममा जलेर घाइते भएका सोही ठाउँका ५५ वर्षीय रामसागर यादवसमेत ३ जनालाई उपचारका लागि स्थानीय मेडिकल पठाइएको छ ।











