करेन्ट लागेर र डुबेर चारजनाको मृत्यु
काठमाडौं बुढानीलकण्ठ नगरपालिका–७ हात्तीगौँडाका कान्छाकाजी महर्जनका गाडी चालक ओखलढुंगा घर भएका ४० वर्षीय हर्कबहादुर बिडारीको बुधबार दिउँसो करेन्ट लागेर मृत्यु भएको छ ।काठमाडौं, कात्तिक १८ : काठमाडौं बुढानीलकण्ठ नगरपालिका–७ हात्तीगौँडाका कान्छाकाजी महर्जनका गाडी चालक ओखलढुंगा घर भएका ४० वर्षीय हर्कबहादुर बिडारीको बुधबार दिउँसो करेन्ट लागेर मृत्यु भएको छ ।
महर्जनको घरमा विद्युतको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका बिडारीको शहीद गंगालाल अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो ।
यस्तै, मोरङ सुन्दरहरैंचा नगरपालिका–२ करैवनाका ३८ वर्षीय अमर राईको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ । सोही नगरपालिका–२ गोलापरासी बस्ने रेणुका लिम्बुको घरमा ढलानको काम गर्ने क्रममा करेन्ट लागेर बेहोस भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचार क्रममा मृत्यु भएको हो ।
काठमाडौं गोकर्णेश्वर नगरपालिका–४ माकलबारीनजिक वागमती नदीमा पौडी खेल्ने क्रममा डुबेर नाम, थर वतन नखुलेका करिब ३० वर्षीय पुरुषको बिहीबार दिउँसो मृत्यु भएको छ । पौडी खेल्ने क्रममा ती पुरुष डुबेर बेपत्ता भएका थिए । प्रहरीले उनको शव पानीबाट निकालेको हो ।
यस्तै, सिरहा लहान नगरपालिका–२४ गोविन्दपुरका अशोक साहकी छोरी ११ वर्षीया अर्चनाकुमारी साहको सोही नगरपालिका–२२ स्थित सार्वजनिक पोखरीमा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ । उक्त पोखरीमा नुहाउने क्रममा डुबेर बेहोस भएकी उनको उपचारका लागि लहान लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।