अर्ली इलेक्सन हुँदैन : नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमा पाँच दलीय गठबन्धन अझ बलियो हुने बताएका छन्।
काठमाडौं, कात्तिक १८ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमा पाँच दलीय गठबन्धन अझ बलियो हुने बताएका छन् ।
पार्टीको मध्यपुरथिमि नगर संगठन कमिटीले बिहीबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले पाँच दलीय गठबन्धनलाई कसैले भत्काउन नसक्ने बताए ।
संघीय संसद्को चुनाव संविधानले निर्धारण गरेको मितिमा हुने जनाउँदै नेपालले भने, ‘कोही भ्रममा नपरे हुन्छ, अर्ली इलेक्सन हुँदैन, छिट्टै चुनाव हुनेवाला छैन, संघीय संसद्को चुनाव आफ्नै समयमा हुनेछ, आगामी चैतमा स्थानीय तहको चुनाव हुनेछ, अब केही समयमा राष्ट्रियसभाको चुनाव हुन्छ, रिक्त स्थानमा संघीय उपनिर्वाचन पनि अब हुन्छ ।’
एमालेमै छुटेका कार्यकर्तालाई आफ्नो पार्टीमा आउन आह्वान गर्दै उनले उनीहरूलाई जतिखेर आए पनि ढोका खुला रहेको बताए । ‘एमालेमा बसेर पछुताइरहनुभएको, तपाईंहरूले त्यहाँ हेर्नुभयो, भोग्नुभयो, छाम्नुभयो, पीडा सहनुभयो, अब त फर्केर आए पनि हुन्छ,’ नेपालले भने, ‘त्यहाँ अपमान, निन्दा, पीडा सहेर किन बसेको, एमालेमा पछुताउँदै बस्नु पर्दैन । अझै केही बिग्रिएको छैन, आउनोस् १० नेतालाई हाम्रो पार्टीमा ढोका खुला छ, स्वागत छ ।’
अध्यक्ष नेपालले आफूहरूसँग कसैले टक्कर लिन्छ भने त्यो टुक्रा–टुक्रा हुने बताए । र, अहंकार अब धेरै दिन नटिक्ने उल्लेख गरे । उनले भने, ‘देशव्यापी रूपमा हाम्रो पार्टीमा आउनेको लहर बढेको छ । निर्वाचनको मैदानमा हामी जित्नेछौँ, टक्कर लिनेहरूको हालत खत्तम बनाउने छौँ ।’











