Kathmandu Press

कागेश्वरीमा कागको अष्टधातुमा पूजा आराधना

कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी धाममा रहेको कागको अष्टधातुको मूर्तिमा काग तिहारका अवसरमा विशेष पूजा आराधना गरिएको छ। 
कागेश्वरीमा कागको अष्टधातुमा पूजा आराधना

काठमाडौं, कात्तिक १८ : कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी धाममा रहेको कागको अष्टधातुको मूर्तिमा काग तिहारका अवसरमा विशेष पूजा आराधना गरिएको छ । 

काग तिहारका अवसरमा कागेश्वरी धामको कागको मूर्तिमा पूजा आराधना गरेमा मनोकामना पूरा हुने, यमदूतका रूपमा कागले परलोकमा पनि सहयोग गर्ने, कागस्पर्शजनित दोषबाट समेत मुक्ति पाइने धार्मिक विश्वास छ । धाममा संविधानसभा सदस्य रामेश्वर फुयाँलको नेतृत्वमा अष्टधातुको कागको मूर्ति बनाई स्थापना गरिएको छ ।

मन्दिर परिसरमा हाल २२७ किलोको अष्टधातुबाट बनेको कागको मूर्ति विशेष आकर्षणका रूपमा छ । यो नेपालकै ठूलो कागको मूर्ति हो । यहीँको लोकतान्त्रिक सहिद उद्यानमा एक हजार किलोको विश्वकै ठूलो कागको मूर्ति निर्माण सम्पन्न भएको फुयाँलले जानकारी दिए ।

एक हजार किलोको अष्टधातुको कागको मूर्ति बनाउन स्थानीयवासीले धातु दान गरी सहयोग गरेका थिए । ०७२ सालमा फुयाँलको अग्रसरतामा यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ मा महोत्सवसमेत आयोजना गरिन्छ ।

सोही मन्दिरको समेत नाम जोडेर कागेश्वरी मनोहरा नगरपालिकाको नामकरण भएको छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण कागेश्वरी महादेव मन्दिरमा भाद्र शुक्ल अष्टमीका दिनमा पनि मेला लाग्ने गर्छ । 

यसैगरी, बुधबार काग तिहारका अवसरमा पशुपति क्षेत्र र हनुमानढोका दरबार क्षेत्रमा रहेका कागेश्वरी मन्दिरमा पनि पूजा आराधना गरिएको छ ।

प्रकाशित मिति: ११:१६ बजे, बिहीबार, कात्तिक १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्