सुलिचौर–अरेस-प्युठान सडकमा चट्टान फोर्दै सेना
रोल्पा हुँदै प्युठान जोड्ने सुनिल स्मृति गाउँपालिका–४ स्थित सुलिचौर–अरेस सडकको धनचौरमा नेपाली सेनाले कडा चट्टान फोडी सडकखण्डमा रहेको अवरोध हटाउने काम सुरु गरेको छ।
रोल्पा, कात्तिक १८ : रोल्पा हुँदै प्युठान जोड्ने सुनिल स्मृति गाउँपालिका–४ स्थित सुलिचौर–अरेस सडकको धनचौरमा नेपाली सेनाले कडा चट्टान फोडी सडकखण्डमा रहेको अवरोध हटाउने काम सुरु गरेको छ ।
सुनिल स्मृति–४ स्थित सुलिचौर–अरेस–प्युठान सडकखण्डको धनचौर इलाकामा पहिरो जाँदा उक्त सडक अवरुद्ध भएको थियो । करिब एक वर्षसम्म सडक अवरुद्ध हुँदा रोल्पा र प्युठानका दुर्गम स्थानमा बसोबास गर्ने सर्वसाधारणलाई यातायात र सामान ढुवानीमा समस्या भएको थियो ।
सडकखण्डको विभिन्न स्थानमा रहेका ठूला कडा चट्टानले सवारी साधन आवतजावतमा मुस्किल पर्दै आएको थियो । वर्षातमा पहिरो झरेर सडक अवरुद्ध हुँदा समस्या भोग्दै आएको स्थानीय भानु जीसीले बताए । सडक बन्द हुँदा लामो दूरीमा पैदल तथा वैकल्पिक बाटो प्रयोग गरी यात्रा गर्नुपर्ने बाध्यता थियो ।
नेपाली सेनाको बटुकदल गणको सैनिक टोलीले विष्फोटक पदार्थ प्रयोग गरी उक्त सडकमा रहेको अवरोध हटाइरहेको छ । बटुकदल गणका गणपति मनि थापाका अनुसार पहिरोसहित आएको ठूलो ढुंगाले सडकको करिब २० मिटर भाग अवरुद्ध भएको छ । पूर्ण रूपमा सडक सञ्चालन हुन थप केही समय लाग्ने उनले जानकारी दिए ।
जोखिमपूर्ण अवस्थामा रहेको सो सडकखण्डमा सवारी आवतजावत गर्दा सधैँ संशयपूर्ण मानसिकताका साथ यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीयवासीको भनाइ छ । सडक चौडा बनेसँगै पूर्वी रोल्पामा निर्माणाधीन विकास योजनाले तीव्रता पाउनुका साथै सामाजिक, आर्थिक र शैक्षिक विकासमा समेत टेवा पुग्ने स्थानीयवासीले अपेक्षा गरेका छन् ।
करिब एक वर्षदेखि अवरुद्ध सडकखण्ड सञ्चालनका लागि नेपाली सेना परिचालित भएको हो । स्थानीयवासीसँगको सहकार्यमा नेपाली सेनाले यसअघि जिल्लाका विभिन्न स्थानमा विकास निर्माण कार्यमा सहयोग गर्दै आएको छ ।
उत्तरी रोल्पाको वीरबलभद्र माविमा कक्षा कोठा थप, फिल्ड निर्माण, तारा मावि वामरुकमा सुविधा सम्पन्न शौचालय निर्माण, खुमेलमा सामाजिक घर निर्माण, उत्तरी रोल्पाको दुईखोलीमा कडा चट्टान फोडी सडक चौडा बनाउनुका साथै विगत २५ वर्षदेखि निर्माण अवरुद्ध भएको शिरक्याङ भिरको कडा चट्टान फोर्ने कामसमेत गरेको थियो ।











