Kathmandu Press

लक्ष्मी जयन्तीमा महाकवि देवकोटाको सम्झना

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औँ जन्मजयन्तीका अवसरमा देवकोटाको साहित्यिक योगदानको चर्चा एवं कविगोष्ठीलगायत कार्यक्रम आयोजना भइरहेका छन्।
लक्ष्मी जयन्तीमा महाकवि देवकोटाको सम्झना

काठमाडौं, कात्तिक १८ : महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औँ जन्मजयन्तीका अवसरमा देवकोटाको साहित्यिक योगदानको चर्चा एवं कविगोष्ठीलगायत कार्यक्रम आयोजना भइरहेका छन् । यसैबीच साहित्यिक पत्रकार संघ र कमलपोखरी छठपूजा समाजको संयुक्त आयोजनामा बुधबार कमलपोखरीमा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकारले देवकोटाको योगदानको स्मरण गर्दै कमलपोखरी क्षेत्रको विकासबारे प्रकाश पारे । वरिष्ठ नाट्यकर्मी अशेष मल्लले नेपाली साहित्यमा देवकोटाको योगदान अविस्मरणीय रहेको बताउँदै नेपालले विश्वमा देखाउनसक्ने ती विशेष कुरामा सगरमाथा, बुद्ध र देवकोटा रहेको उल्लेख गरे ।

कवि एवं समालोचक प्रमोद प्रधानले नेपाली साहित्यमा सबैभन्दा बढी विद्यावारिधि गरिएको र सबैभन्दा बढी पुस्तक लेखिएका साहित्यकार सम्भवतः देवकोटा नै भएको बताए । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय उपाध्यक्ष बाबा बस्नेतले देवकोटाको सम्झनाले नेपाली साहित्यकारले गौरवबोध गर्ने गरेको धारणा राखे ।

त्यस अवसरमा सर्जक नरेन्द्रबहादुर श्रेष्ठ, नियात्राकार युवराज नयाँघरे, दामोदर पुडासैनी, मन्जिला अनिल, गीता कार्की, शान्ति रिसाल, शशी रिमाल, शशी थापा, मुरारी सिग्देल, नीता श्रेष्ठ, पारू तिमिल्सिना, एलिशा ढुंगानालगायतले कविता वाचन गरेका थिए ।

संघका अध्यक्ष राधेश्याम लेकालीले आगामी दिनमा पनि संघले यस्ता कार्यक्रम गर्ने बताए । लक्ष्मी जयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले बुधबार कमलादीमा विशेष कार्यक्रमको आयोजना गरेको थियो भने कौशिकी साहित्य प्रतिष्ठानले पुस्तक विमोचनको कार्यक्रम आयोजना गरेको थियो ।

प्रकाशित मिति: १०:४९ बजे, बिहीबार, कात्तिक १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्