Kathmandu Press

‘अर्ली इलेक्सन’ हुँदैन, चुनावमा कांग्रेस एक्लै लड्छ : गगन थापा

भक्तपुर, कात्तिक १७ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेकपा (एमाले)ले चाहेको जस्तो अर्ली इलेक्सन अहिले असम्भव भएको बताएका छन्। नेपाली कांग्रेस गुण्डुले आज...
‘अर्ली इलेक्सन’ हुँदैन, चुनावमा कांग्रेस एक्लै लड्छ : गगन थापा

भक्तपुर, कात्तिक १७ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेकपा (एमाले)ले चाहेको जस्तो अर्ली इलेक्सन अहिले असम्भव भएको बताएका छन्। 

नेपाली कांग्रेस गुण्डुले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले वैशाखमा स्थानीय तहको निर्वाचनबाहेक अरू कुनै निर्वाचन समयअगाडि नहुने बताएका हुन्। नेता थापाले राष्ट्रियसभाको रिक्त हुने सदस्य पदमा चुनाव हुँदैछ भने प्रतिनिधिसभा र प्रदेशसभाका रिक्त पदमा पनि उपनिर्वाचनको लागि सरकारले तयारी गरेको जानकारी दिए।

‘कांग्रेस पहिला पनि एक्लै चुनाव लडेर ठूलो पार्टी भएको हो र अहिले पनि एक्लै चुनाव लडेर ठूलो पार्टी बन्छ,’ उनले भने, ‘आगामी निर्वाचनमा कांग्रेस एक्लै लडेर पनि एमालेलाई केन्द्र, प्रदेश र स्थानीय तहबाट हराउँछ।’ 

नेता थापाले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर आफूले सरकारले गरेका राम्रा र नराम्रा कामबारे जानकारी लिएको बताउँदै नराम्रा काम नगर्न सरकारलाई आग्रह गरेको जानकारी दिए। 

कार्यक्रममा वाग्मती प्रदेशका भौतिक पूर्वाधारमन्त्री कृष्णलाल भँडेलले प्रदेश सरकारले जिम्मेवारीपूर्वक काम गर्ने बताए। नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले राजनीति गरेर धन कमाउनेहरुको स्रोत खोज्नुपर्ने बताउँदै मुलुकमा सुशासनको अनुभूति दिलाउनेतर्फ सरकार अग्रसर रहेको उल्लेख गरे। 

कार्यक्रममा सूर्यविनायक नगर कांग्रेस सभापति निशान ढुङ्गेल, गुण्डु गाविसका पूर्वअध्यक्ष भेषबहादुर कार्की, कार्यक्रमका सभापति एवं कांग्रेस वडा नं ७ का अध्यक्ष जगदीश बस्नेतले आगामी निर्वाचनमा कांग्रेसले भक्तपुरको सबै ठाउँमा विजयी हुने दाबी गरे।
 

प्रकाशित मिति: १६:०८ बजे, बुधबार, कात्तिक १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्