एकल पुरुषलाई ‘विदुर’ भत्ता
जुम्ला, कात्तिक १७ : जुम्लाको गुठिचौर गाउँपालिकाले एकल पुरुषलाई विदुर भत्ता दिइने भएको छ।
गाउँपालिकाले ४१ देखि ५९ वर्षसम्मका एकल पुरुषलाई विदुर भत्ता दिने जनाएको छ। यसका लागि चालु आर्थिक वर्षमा रु सात लाख बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले बताए। उनले भने, ‘एकल पुरुषलाई मासिक रु दुई हजारका दरले विदुर भत्ता दिने कार्यपालिको निर्णय भएको छ।’ गाउँपालिकाले विदुर भत्ता दिने निर्णयको एकल पुरुषले स्वागत गरेका छन्। समाजमा एकल पुरुष पनि साहराविहीन हुने गरेका छन्। सो भत्ताले थोरै भए पनि राहत दिने विश्वास गरिएको गाउँपालिका अध्यक्ष भण्डारीले बताए।
सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ। गुठीचौर गाउँपालिकाले यसबाहेक थप एकल पुरुष भत्ता वितरण गर्न थालेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मदन देवकोटाले बताए। अहिले गाउँपालिकाभित्र रहेका एकल पुरुषको तथ्याङ्क सङ्कलनको काम सुरु भएको छ।
तथ्याङ्क आउने वित्तिकै विदुर भत्ता दिन सुरु गर्ने हुने प्रमुख प्रशासकीय अधिकृत देवकोटाले जानकारी दिए। एकल पुरुषको तथ्याङ्क सङ्कलनका लागि प्रत्येक वडालाई सर्कुलर गरिएको छ। गाउँपालिकाले गर्भवती तथा सुत्केरी महिलालाई पोषिलो खाना हर्लिक्स, कुखुरा र अण्डा वितरण गर्दै आएको पनि छ। हिमाली जिल्लामा ६० वर्षदेखि माथिकालाई सरकारले सामाजिक सुरक्षा भत्ता दिने भएकाले त्योभन्दा तल ४० वर्ष भन्दा माथिका एकल पुरुषलाई विदुर भत्ता दिन थालिएको हो।
गाउँपालिका महिला, बालबालिका, एकल पुरुष, एकल महिला, असाहय, अपाङ्गता भएका व्यक्तिको हितका लागि संवेदनशील रहेको प्रमुख प्रशासकीय अधिकृत देवकोटाले बताए। गाउँपालिकाले यसअघि एकल पुरुषले भोग्नु परिरहेको समस्याका बारेमा अध्ययन गरेको थियो।
समाजमा एकल पुरुषको अवस्था पनि दयनीय भएकाले उनीहरुको अवस्थामा सुधार र जीवनयापनमा सहज बनाउन विदुर भत्ता दिने निष्कर्षमा पुगेको गाउँपालिकाको सामाजिक शाखाले जनाएको छ। पछिल्लो समयमा यहाँ छोराले बुहारी ल्याउने वित्तिकै बुढाबुढीलाई अलग्गै राख्ने प्रचलन बढेको छ। जसले उनीहरु बिचल्लीमा परेको देखिन्छ। अहिले एकल महिलासँगै एकल पुरुषले पनि समस्या भोगिरहेका छन्। एकल पुरुषका समस्या बुझेर विदुर भत्ता उपलब्ध गराउन थालिएको गाउँपालिकाले जनाएको छ।