यसरी चयन गरिनेछ एमाले महाधिवेशन प्रतिनिधि
काठमाडौं, कात्तिक १७ : आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा एमाले १०औं राष्ट्रिय महाधिवेशन हुँदैछ।विधान महाधिवेशनले पारित गरेको नयाँ विधानको व्यवस्थाअनुसार साे...
काठमाडौं, कात्तिक १७ : आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा एमाले १०औं राष्ट्रिय महाधिवेशन हुँदैछ।
विधान महाधिवेशनले पारित गरेको नयाँ विधानको व्यवस्थाअनुसार साे महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्ष, महासचिव, उपमहासचिव र सात सचिव गरी १५ पदाधिकारीसहितको २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ।
एक तिहाइ महिलासहित नेपालको सामाजिक र वर्गीय विविधताको प्रतिनिधित्व हुने गरी केन्द्रीय कमिटी समावेशी हुनेछ। यसैगरी महाधिवेशनले १५ सदस्यीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगको पनि चयन गर्नेछ ।
उक्त महाधिवेशनका लागि प्रतिनिधि चयनको आधार तय गरिएको छ। एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार महाधिवेशनमा केन्द्रीय सल्लाहकार परिषद्बाट निर्वाचित हुने १५ जना प्रतिनिधि सहभागी हुनेछन्। उनीहरूलाई मताधिकार भने हुनेछैन।
प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्यहरू मध्येबाट कम्तीमा दुई महिलासहित ५ जनाका दरले प्रतिनिधि निर्वाचित गर्नुपर्नेछ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गतका १२०० सम्म पार्टी सदस्यमध्येबाट कम्तीमा एक महिलासहित तीन जनाका दरले निर्वाचित प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन्।
सो संख्यामा ८ सयसम्म सदस्य थप भए १ जना, १६ सयसम्म थप भए २ जना, २४ सयसम्म थप भए कम्तीमा एक महिलासहित ३ जना र त्यसभन्दाभन्दा बढी भएमा सोही अनुपातमा प्रतिनिधि चयन हुने विज्ञिप्तमा उल्लेख छ।
देशभरका जिल्ला र विशेष जिल्लाअन्तर्गतका ५ सयसम्म दलित पार्टी सदस्य मध्येबाट निर्वाचित हुने १ जना प्रतिनिधि चयन गरिने भएको छ।
उक्त संख्यामा ५ सयसम्म सदस्य थप भए १ जना, १ हजारसम्म सदस्य थप भए २ जना, १ हजार ५ सयसम्म सदस्य थप भए कम्तीमा एक महिलासहित तीनजना निर्वाचित हुने व्यवस्था गरिएको छ।
भूगोलका प्रदेश अन्तर्गतमा मजदुर पार्टी सदस्य मध्येबाट कम्तिमा ३ महिलासहित ७ जनाका दरले निर्वाचित हुने व्यवस्था गरिएको छ।
भारत, अमेरिका (क्यानडा समेत), युरोप, एशिया प्यासिफिक, खाडी र ओसियाना मध्ये प्रत्येकका पार्टी सदस्यहरूबाट कम्तीमा २ महिला सहित ५ जनाका दरले निर्वाचित हुने प्रतिनिधिले पनि महाधिवेशनमा सहभागी हुन पाउनेछन्।
पार्टीका केन्द्रीय विभाग र केन्द्रीय कार्यालयअन्तर्गतका पार्टी सदस्यहरूबाट निर्वाचित हुने कम्तीमा दुई महिला सहित पाँचजना प्रतिनिधि चयन गरिनेछ। विभागका सचिव र सदस्यहरू विभाग र केन्द्रीय कार्यालय वा आफ्नो पार्टी सदस्यता कायम रहेको मध्ये कुनै एक स्थानबाट उम्मेदवार बन्न सक्ने व्यवस्था पनि गरिएको छ।
नेपाल ट्रेड युनियन महासंघ, अखिल नेपाल किसान महासंघ, अखिल नेपाल महिला संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, राष्ट्रिय युवा संघ नेपाल, राष्ट्रिय जनसांस्कृतिक महासंघलगायग २२ जनसंगठनका केन्द्रीय कमिटीमा कार्यरत पार्टी सदस्यबाट कम्तीमा २ महिलासहित ५ जनाका दरले निर्वाचित प्रतिनिधि महाधिवेशनमा सहभागी हुन पाउनेछन्।
महाधिवेशन प्रतिनिधिका लागि यही कात्तिक २७ गते देशैभरि एकसाथ निर्वाचन हुनेछ।











