Kathmandu Press

जापानका नेपालीको कष्ट- निगमको हवाई भाडा चर्को, पार्ट टाइम आम्दानीमा पनि कर

काठमाडौं, कात्तिक १६ : गैर आवासिय नेपाली संघ जापानका अध्यक्ष शिव प्रसाद पौडेलसहितको टोलीले परराष्ट्रमन्त्री नारायण खड्कालाई ज्ञापनपत्र बुझाएका छन्। जापानवासी नेपालीका समस्या...
जापानका नेपालीको कष्ट- निगमको हवाई भाडा चर्को, पार्ट टाइम आम्दानीमा पनि कर

काठमाडौं, कात्तिक १६ : गैर आवासीय नेपाली संघ जापानका अध्यक्ष शिव प्रसाद पौडेलसहितको टोलीले परराष्ट्रमन्त्री नारायण खड्कालाई ज्ञापनपत्र बुझाएका छन्। जापानवासी नेपालीका समस्या र दुई देशबीच गरिनुपर्ने अत्यावश्यक काम कारवाहीका बारेमा ज्ञापनपत्र बुझाइएको हो। 

एनआरएनए जापानका उपाध्यक्षहरु राजकुमार अधिकारी, रामकृष्ण श्रेष्ठ, यूवा संयोजक राकेश रुम्बा एवं निवर्तमान प्रवक्ता पर्शु बस्नेतसहितको टोलीले मंगलबार मन्त्री खड्कालाई ९ बुँदे ज्ञापनपत्र बुझाएको हो।

पत्रमा तत्काल सम्वोधन गरिनुपर्ने दुई र दिर्घकालिन रुपमा गर्नुपर्ने ७ वटा महत्वपूर्ण विषय समेटिएको छ। 

नेपालमा सिओई आएर रोकिएका सबै भिषा स्टाटसका नेपालीहरुको प्रवेशमा सार्थक पहल गर्न तथा नेपाल एयरलाइन्सको सिधा हवाई उडानमा चर्को भाडादर रहेकाले समायोजनको पहल गर्न परराष्ट्र मन्त्री मार्फत आग्रह गरिएको छ।

श्रमिकको सिपमूलक क्षमता अभिबृद्धिमा पहल, जापानमा पाउने पेन्सन नेपालमा लिन सकिने व्यवस्थाको लागि सम्झौतामा पहल गर्न समेत सरकारको ध्यानाकर्षण गराइएको छ।

जापानको आम्दानीलाई दोहोरो कर छुटको व्यवस्था गरी दुई देशबीच दोहोरो कर छुट सम्झौताको पहल गर्न, अल्पबिकसित राष्ट्रका नागरिकहरु लाभान्वित हुनेगरी बनेका नियम, सेवा र सुविधाको लागि सरकारलाई सहजिकरण गर्न र यसमा एनआरएनए जापानले समन्वयात्मक काम गर्ने प्रद्धिबता एनआरएनए जापानको टोलीले गरेको छ।

कुक भिषामा जापान जाने नेपालीहरुबाट लिने गरिएको चर्को रकम, सम्झौता अनुसार जापान पुगेपछि तलब नदिनेगरेका समस्या र उनीहरुमाथिको दुःख बढ्दो क्रममा रहेकाले समस्या सुल्झाउन एनआरएनए जापानले आग्रह गरेको छ।

जापान र नेपाल सरकारबीच भएको सम्झौता अनुसार नेपाली कामदार लैजाने सहमती भएपनि प्रक्रियामा भएको ढिलासुस्तीले गर्दा हजारौं नेपालीले मौका गुमाइरहेकाले यसमा तदारुकताका साथ काम गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।

भियतनाम, चीन लगायत कतिपय राष्ट्रका विद्यार्थीहरुको पार्टटाईमबाट हुने आम्दानीमा कर तिर्नुनपर्ने व्यवस्था रहेपनि नेपालले सो सुविधा नपाएकाले परराष्ट्र मन्त्रालयमार्फत पहल गर्न आग्रह गरिएको छ।

हाल जापानको लागि नेपालको तर्फबाट राजदूत नियुक्ती नभएकाले यथासक्य छिटो कुटनीतिक क्षेत्रमा दक्षता राख्नसक्ने राजदूत नियुक्तीको पहल गर्न आग्रहसहित एनआरएनए जापानले सरकारले चाल्ने कदममा एनआरएनए जापानले सबै किसिमको साथ र समन्वयको भूमिका निभाउने प्रतिबद्धता जनाएको छ।

एनआरएनए जापानको तर्फबाट ज्ञापनपत्र बुझ्दै मन्त्री खड्काले सरकारले ज्ञापनपत्रमा उल्लेख बुंदाहरुको अध्ययन गरेर तत्काल आवश्यक कदम चाल्ने आश्वासन दिएको एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलले जानकारी दिए।

प्रकाशित मिति: २०:२६ बजे, मंगलबार, कात्तिक १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्