पार्टीभित्र मूल्याङ्कनको समय आयो : वरिष्ठ नेता पौडेल
काठमाडौं, कात्तिक १६ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र मूल्याङ्कनको समय आएको बताएका छन् ।नेपाली कांग्रेस रत्ननगर नगरपालिका–१३ को कार्यालय उद्घाटन,...
काठमाडौं, कात्तिक १६ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र मूल्याङ्कनको समय आएको बताएका छन् ।
नेपाली कांग्रेस रत्ननगर नगरपालिका–१३ को कार्यालय उद्घाटन, सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा आज उनले पार्टीको १४ औँ महाधिवेशन नेताको मूल्याङ्कनको समय रहेको बताए । उनले भने, “पार्टीका लागि कस्ले के गर्यो भन्ने विषयमा मूल्याङ्कन १४ औँ महाधिवेशनले गर्नेछ ।”
कार्यकर्तालाई दुविधामा राख्ने र ढाकछोप गर्ने गर्दा पार्टी बिग्रिएको उनको भनाइ थियो । “अहिले पार्टी कहाँ पुग्यो मूल्याङ्कन गरेर नेतृत्व चयन गर्नुपर्छ”, उनले भने । वरिष्ठ नेता पौडेलले कांग्रेसलाई सुधार गरेर लैजानका लागि महाधिवेशनमा कार्यकर्ताले मूल्याङ्कन र विवेक पुर्याउनुपर्नेमा जोड दिए ।
अब पार्टी बनाउनका लागि निष्ठा र नैतिकताको राजनीति गर्नुपर्ने उनको भनाइ थियो । वरिष्ठ नेता पौडेलले पार्टीका नेता तथा कार्यकर्ताको आचरण र सिद्धान्तका आधारमा आम जनताले हैसियतमा राख्ने गरेको भन्दै कांग्रेसका नेता कार्यकर्ता नैतिकवान बन्नुपर्ने बताए । पार्टीलाई रुपान्तरण गर्दै लैजानुपर्ने समय आएको भन्दै उनले भने, “पार्टीभित्र रुपान्तरणको आवश्यकता छ । कांग्रेस उज्यालो अनुहार लिएर अघि बढ्नुपर्छ ।”
कांग्रेसभित्र सुदृढ एकताको आवश्यकता रहेको भन्दै उहाँले न्याय र मूल्याङ्कनको आधारमा सँगै एजेण्डामा एकता हुन जरुरी रहेको बताए । वरिष्ठ नेता पौडेलले पछिल्लो समयमा लोकतान्त्रिक संस्था कमजोर बनाउने काम भएको बताउँदै संवैधानिक परिषद्को ऐन र सेटिङका कारण अदालतजस्तो संस्था ढल्ने अवस्थामा पुगेकाले अब आँखा चिम्लेर बस्ने समय नरहेको उल्लेख गरे ।











