‘दुई डिग्री अर्थात् मृत्युदण्ड’
पृथ्वीको तापक्रम दुई डिग्री बढ्यो भने के होला ? नेपालजस्ता हिमालीभन्दा समुद्री टापु मुलुकका लागि मृत्युदण्ड नै सावित हुनेछ।
ग्लास्गो, कात्तिक १५ : पृथ्वीको तापक्रम दुई डिग्री बढ्यो भने के होला ? नेपालजस्ता हिमालीभन्दा समुद्री टापु मुलुकका लागि मृत्युदण्ड नै सावित हुनेछ ।
‘कोप–२६’ शिखर सम्मेलनमा सहभागी बारबाडोसकी प्रधानमन्त्री मिया मोटलीले सम्मेलनमा यही विषयमा जोड दिइन् ।
उनले भनिन्, ‘बारबाडोसजस्तो टापु मुलुकका बासिन्दा १.५ डिग्री तापक्रम बढ्दा बाँच्न सकौँला तर दुई डिग्री तापमान वृद्धि हाम्रा लागि मृत्युदण्डसरह हुनेछ । त्यसैले हामी यस सम्मेलनमा यही कुरा विश्वका नेताहरूलाई सम्झाउन आएका हौँ । अधिकतर कोशिस गरौँ, तापक्रम वृद्धि हुन नदिन ।’
हिमाली, पहाडी भूभाग बढी रहेका नेपालजस्ता मुलुकका लागि जलवायु परिवर्तनको असरका रूपमा बाढी पहिरो, खडेरीलगायत विपद लिएर आएको छ । क्यारेबियन टापु मुलुक बारबाडोसजस्ता समुद्री किनारमा अवस्थित मुलुकहरूले भने समुद्रको जलस्तर बढ्दै आफू भूभाग पानीमा डुब्ने सन्निकट खतरा देखिरहेका छन्।
त्यही विषयलाई टापु मुलुकहरूले शिखर सम्मेलनमा जोडतोडले उठाइरहेका छन् ।











