कांग्रेसको विरोधपछि संसद् स्थगित
काठमाडौं, माघ १७ : डा.गोविन्द केसीसँगको सहमति विपरित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ल्याइएको जनाउँदै कांग्रेसले आज पनि संसद्मा विरोध जारी राखेको छ ।....
काठमाडौं, माघ १७ : डा.गोविन्द केसीसँगको सहमति विपरित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ल्याइएको जनाउँदै कांग्रेसले आज पनि संसद्मा विरोध जारी राखेको छ । कांग्रेसले विरोध जनाएपछि संसद् स्थगित भएको छ ।
बिहीबार प्रतिनिसभाको बैठक शुरु हुने वितिक्कै सभामुख कृष्णबहादुर महराले बोल्ने समय दिएका थिए । संसद्मा बोल्दै कांग्रेस सांसद् डा.मिनेन्द्र रिजालले सरकारको विरोध गरे । उनले डा.केसीसँग भएको सहमति अनुसारनै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्नु पर्नेमा जोड दिए । उनले डा.केसीको माग अनुसार, राष्ट्रिय सभाले चिकित्सा शिक्षा विधेयक परिमार्जन गर्नु पर्ने बताए ।
डा.रिजालले अनसनरत डा.केसीको जीवनरक्षा गर्न पनि सरकार अग्रसर हुनु पर्ने बताए । ‘‘डा.केसीको जीवनरक्षा र उनको माग अनुसार, चिकित्सा शिक्षा विधेयक परिमार्जन नहुँदासम्म संसद्को कारवाही अगाडि बढ्दैन,” उनले भने ।
डा.रिजालले बोलिसकेपछि सभामुख महराले प्रतिनिधिसभाको बैठक संचालन गर्न खोजेका थिए । तर, कांग्रेस सांसदहरुले आफ्नै सिटमा उभिएर विरोध जनाएका थिए । कांग्रेस सांसदले उभिएरै विरोध जनाइराखेपछि सभामुख महराले माघ २० गते दिउसो ३ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।