Kathmandu Press

म्याग्दीको लाम्पाटामा क्याम्पस भवन निर्माण

बेनी, कात्तिक १३ : म्याग्दीको मङ्गला गाउँपालिका–२ लाम्पाटामा क्याम्पस भवन निर्माण गरिएको छ। गाउँपालिका, प्रदेश र सङ्घीय सरकारको साझेदारीमा एक करोड ५० लाख...
म्याग्दीको लाम्पाटामा क्याम्पस भवन निर्माण

बेनी, कात्तिक १३ : म्याग्दीको मङ्गला गाउँपालिका–२ लाम्पाटामा क्याम्पस भवन निर्माण गरिएको छ। गाउँपालिका, प्रदेश र सङ्घीय सरकारको साझेदारीमा एक करोड ५० लाख रुपैयाँको लागतमा उक्त भवन निर्माण सम्पन्न भएको हो।

दश कोठा र एक सभाहलसहितको तीन तले भवन निर्माण सम्पन्न भएपछि ५० लाख रुपैयाँको लागतमा थप चार कोठे भवन निर्माण सुरु गरिएको छ। क्याम्पस प्रमुख प्रितमबहादुर खत्रीका अनुसार सो भवन निर्माण गर्न विश्वविद्यालय अनुदान आयोगले सहयोग गरेको हो।

Hardik ivf

आर्थिक वर्ष २०७६/७७ मा प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाको सिफारिसमा विनियोजन भएको स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको ७० लाख र गाउँपालिकाको ३० लाख रुपैयाँमा सो भवन निर्माण गरिएको हो। सोही भवन  आर्थिक वर्ष २०७७÷७८ मा गण्डकी प्रदेशसभा सदस्य नरदेवी पुनको सिफारिसमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको २५ लाख तथा गाउँपालिकाको २५ लाखमा ६ कोठा र सभाहल निर्माण गरिएको छ। चालू आवमा विश्व विद्यालय अनुदान आयोगले उपलब्ध गराएको ५० लाख रुपैयाँमा चार कोठे भवन निर्माण सुरु गरिएको छ।  

थप भवन निर्माणका लागि जग्गा खरिद गर्न ८७ लाख रुपैयाँ चन्दा सङ्कलन गरिएको थियो । ५६ लाखमा लाम्पाटामा ३३ रोपनी आठ आना जग्गा खरिद गरी क्याम्पस भवन निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले जानकारी दिए। विसं २०६६ मा स्थापना भएको क्याम्पस बाबियाचौरस्थित मङ्गला माविको भवनबाट सञ्चालन हुँदै आएको छ। नयाँ भवनबाट क्याम्पस सञ्चालन गर्ने तयारी भइरहेको सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले बताए। नयाँ भवनको दुई कोठामा छात्राबास सञ्चालन गरिएको छ।

शिक्षा शास्त्र सङ्कायअन्तर्गत स्नातक तहको पठनपाठन हुने उक्त क्याम्पसमा हाल १२४ विद्यार्थी अध्ययनरत छन्। अर्थशास्त्र, गणित, अंग्रेजी र नेपाली विषयको पठनपाठन हुने उक्त क्याम्पसमा ८० प्रतिशतभन्दा बढी विद्यार्थी छात्रा छन् । समुदाय स्तरबाट सञ्चालित क्याम्पसमा तीन पूर्णकालिन, नौ आंशिक प्राध्यापक र तीन कर्मचारी कार्यरत छन्। क्याम्पस सञ्चालनका लागि स्रोत जुटाउन आर्थिक संकलन अभियान थालिएको छ। दुई करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्यसहित सुरु भएको सो अभियानअन्तर्गत हालसम्म रु १२ लाख संकलन भएको छ।

प्रकाशित मिति: १४:३५ बजे, शनिबार, कात्तिक १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्