Kathmandu Press

डुंगा दुर्घटना : बेपत्ता बालक भेट्टिएनन्, मृतकको भारतमै अन्त्येष्टि

बैतडी, कात्तिक १२ : महाकाली नदीमा डुङ्गा दुर्घटना भएर  बेपत्ता भएका शिवनाथ गाउँपालिका–१ का आठ वर्षीय सन्दीप साउदको अवस्था अज्ञात रहेको छ। बुधबार साँझ...
डुंगा दुर्घटना : बेपत्ता बालक भेट्टिएनन्, मृतकको भारतमै अन्त्येष्टि

बैतडी, कात्तिक १२ : महाकाली नदीमा डुङ्गा दुर्घटना भएर  बेपत्ता भएका शिवनाथ गाउँपालिका–१ का आठ वर्षीय सन्दीप साउदको अवस्था अज्ञात रहेको छ। बुधबार साँझ शिवनाथ–१ स्थित महाकाली नदीको खाँडघाटमा डुङ्गा दुर्घटना हुँदा सन्दीप बेपत्ता भएका हुन्।

सन्दीपको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको भए पनि फेला पर्न नसकेको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। यसका साथै सन्दीपको खोजीका लागि भारतीय प्रहरीसँग समेत समन्वय भइरहेको जनाइएको छ।

Hardik ivf

डुङ्गा दुर्घटनामा परी मृत्यु भएका शिवनाथ–१ कै १३ वर्षीया मीना साउदको भने भारतमै अन्तेष्टि गरिएको छ। बिहीबार बिहान महाकाली नदीको पारि भारतमा मीनाको शव फेला परेको थियो। महाकाली नदीमा पानी बहाव बढी भएकाले नेपाल ल्याउन सक्ने अवस्था नहुँदा मीनाको बिहीबार भारतमै आफन्तले अन्तेष्टि गरेको प्रहरीले जनाएको छ।  

१०  जना सवार डुङ्गा पल्टिँदा आठ जना पौडेर बाँच्न भएका थिए भने मीना र सन्दीप बेपत्ता भएका थिए। दसैंको पूजाका लागि शिवनाथ आएका चक्रसिंह साउदको परिवार लामो समयदेखि भारतको पञ्जाबमा बस्दै आएकाले बुधबार साँझ भारततिर जान लागेका बेला डुङ्गा दुर्घटनामा परेको हो।

महाकाली नदीमा पुल नहुँदा तल्लोसोराडका स्थानीयवासी जोखिम मोलेर डुङ्गाबाट महाकाली नदी तर्दै आएका छन्। जिल्लाको शिवनाथ र पञ्चेश्वर गाउँपालिका भारतसँग जोडिएका र भारत आवतजावत गर्दा पुल नहुँदा त्यहाँका बासिन्दा महाकाली नदीमा डुङ्गाको सहयताले वारिपारि जाने गर्दछन्।  

प्रकाशित मिति: १२:२९ बजे, शुक्रबार, कात्तिक १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्