स्थानीयवासीले नियन्त्रणमा लिएको चितुवा सकुशल छाडियो
बागलुङ, कात्तिक ११ : बडिगाड गाउँपालिका–९ मालारानीमा कुखरा खान खोरमा पसेको चितुवालाई स्थानीयवासीले छोपेर सकुशल छाडिदिएका छन्। आज बिहान ४ बजेतिर स्थानीय दिलबहादुर थापाको...
बागलुङ, कात्तिक ११ : बडिगाड गाउँपालिका–९ मालारानीमा कुखरा खान खोरमा पसेको चितुवालाई स्थानीयवासीले छोपेर सकुशल छाडिदिएका छन्। आज बिहान ४ बजेतिर स्थानीय दिलबहादुर थापाको घरमा रहेको कुखुराको खोरमा छिरेको चितुवालाई दिउँसो नियन्त्रणमा लिइएको हो।
लखेट्न खोजेपनि अटेर गरेर खोरमै बसेको चितुवा पछि आफै निस्केर मानिसहरु झुम्मिएको ठाउँतिर आएपछि गाउँले मिलेर समातेका थिए। खोरबाट भगाउन जम्मा भएकामाथि झम्टन आएको चितुवालाई हातैले समातेर नियन्त्रणमा लिइएको स्थानीय युवा राजन पाइजाले बताए।
‘चितुवा एक्कासी हामी भएतिर आयो, म, दीपक केसीलगायतका साथीहरु भएर समात्यौँ,’ पाइजाले सुनाए।
चितुवासँग भिड्दा नङ्ग्राले खुट्टामा सामान्य घाउ लागेको र कपडा च्यातिएको पाइजाले बताए। उनले जीवनमा पहिलोपटक चितुवासँग आमनेसामने भएको उल्लेख गरे।
अन्दाजी दुई वर्षको चितुवालाई जनप्रतिनिधि, प्रहरीलगायतको रोहबरमा घटनास्थलदेखि तीन किमि टाढा रानीवनमा लगेर छाडिएको सब डिभिजन वन कार्यालय बडिगाडका फरेस्टर दीपकबहादुर श्रीस थापाले बताए।











