Kathmandu Press

म्याग्दीमा एमालेको नेतृत्व : ‘वडामा युवा, पालिकामा पाका’

बेनी, कात्तिक ११ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आगामी १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत म्याग्दीमा भएका वडा र पालिका अधिवेशनले युवा पुस्तालाई नेतृत्वमा स्थापित...
म्याग्दीमा एमालेको नेतृत्व : ‘वडामा युवा, पालिकामा पाका’

बेनी, कात्तिक ११ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आगामी १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत म्याग्दीमा भएका वडा र पालिका अधिवेशनले युवा पुस्तालाई नेतृत्वमा स्थापित गरेको छ।

छ स्थानीय तह र ४५ व वडा रहेको जिल्लामा मङ्गलबारसम्म सम्पन्न भएका ४२ वडा र चार गाउँपालिकाको अधिवेशनबाट ‘वडामा युवा र पालिकामा पाका’ नेतृत्व चुनिएको छ। पालिका अधिवेशनबाट धवलागिरिमा होमबहादुर थापा, मालिकामा बेगप्रसाद गर्वुजा, मङ्गलामा सतप्रसाद रोका, रघुगङ्गा गाउँपालिकामा प्रेमबहादुर कार्की (दीपक) र बेनी नगरपालिमा नारायण जिसी पालिका कमिटी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन्।

पालिकाका नेतृत्वमा चुनिएकासमेत युवा पुस्ताकै पाका नेता बढी छन्। धवलागिरि कमिटिका सचिव रेशम छन्त्याल, उपसचिवद्धय विजय घर्ती र तिलक पुन युवा हुन्, भने उपाध्यक्ष राजाराम सुवेदी वडा नं ६ मराङको वडाध्यक्ष हुन्। सोही पालिकाकै वडा नं ४ मुदीका वडा कमिटी अध्यक्ष गणेश घर्तीसमेत युवा छन्। वडा र पालिका कमिटीमा युवा पुस्ताको ७५ प्रतिशतको हाराहारीमा प्रतिनिधित्व रहेको एमाले जिल्ला सचिवालय सदस्य एवं धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिइन् ।

Hardik ivf

युवा पुस्ताकै पाका नेता गर्वुजाको अध्यक्षतामा सर्वसम्मत निर्वाचित मालिका कमिटीका पदाधिकारी सबै युवा नै रहेका छन्। कमिटीको उपाध्यक्षमा दलमान पुन, सचिवमा सन्तोष सुवेदी, उपसचिवमा भुपेन्द्र दर्जी र धनबहादुर बोहरा चयन भएका छन्। उपसचिव दर्जी २४ वर्षका छन् । मालिकाको वडाध्यक्षमध्ये २ नम्बर वडा कमिटी अध्यक्ष  उदयबहादुर बुढाथोकी, ५ का अध्यक्ष नवीनकुमार बुढाथोकी, ६ का अध्यक्ष तारामान रोका  र ७ का अध्यक्ष टुकलाल चोचाङ्गे ३५ वर्षभित्रको हुन् भने १ नम्बरका अध्यक्ष यामबहादुर पुन, ३ का बलबहादुर बुढा र ४ का गोविन्द कँडेलसमेत युवा पुस्ताकै रहेका गाउँपालिकाका उपाध्यक्ष समेत रहेकी एमाले नेत्री खरमाया बिटालुले बताइन्।

उनका अनुसार पालिका र वडा कमिटीमा चयन भएका ८० प्रतिशत युवा पुस्ताका रहेका छन् । मङ्गला वडा र पालिका कमिटीमा समेत ७० प्रतिशतको हाराहारीमा युवापुस्ता समेटिएको गाउँपालिकाका उपाध्यक्षसमेत रहेकी एमाले नेत्री सिर्जना केसीले जानकारी दिइन्। सतप्रसाद रोकाको अध्यक्षतामा गठीत पालिका कमिटीको उपाध्यक्षमा प्रेमा अधिकारी, सचिवमा चिरञ्जीवी शर्मा, उपसचिवमा दर्पण रोका र चक्रलाल पाण्डे चयन भएका छन्।

अध्यक्ष रोका र उपाध्यक्ष अधिकारी युवा पुस्ताकै पाका नेताका रुपमा चिनिन्छन् भने सचिव शर्मा र उपसचिवद्वय रोका र पाण्डे युवा नेता हुन्। यस पालिकाको वडा नं १ कुहुँका वडा कमिटी अध्यक्ष एकजित रोका, ४ का अध्यक्ष अर्जुन रोका र ५ का अध्यक्ष कृष्ण छन्त्याल ४० वर्ष उमेरभित्रकै युवा नेता हुन्।

अन्नपूर्ण–३ को वडा कमिटी अध्यक्ष रमेश पुर्जा र ७ को अध्यक्ष मिलन पुर्जा युवा हुन्। अधिवेशन सम्पन्न भएका वडामा करिब ४० प्रतिशतको हाराहारीमा युवापुस्ताको प्रतिनिधित्व रहेको बताइएको छ। अन्नपूर्ण– ८ को वडा कमिटी अध्यक्षमा निर्वाचित देउकुमारी खोरजा म्याग्दीमा एमालेको वडा कमिटीमा निर्वाचित एक्ली महिला वडा कमिटी अध्यक्ष बनेकी छन् ।

बेनी –९ का वडा कमिटी अध्यक्ष बाबुराम चोखाल, ३ का  अध्यक्ष गेमबहादुर घर्ती मगर, ५ का अध्यक्ष दिनेश कार्कीसमेत युवा नेता हुन्। बेनी नगर कमिटीको अध्यक्षमा समेत युवा नेता नारायण जिसी निर्विरोध निर्वाचित भएका छन्।

प्रथम नगर अधिवेशनबाट सर्वसम्मत रुपमा जिसीको अध्यक्षतामा ८३ सदस्यीय नगर कमिटी चयन गरिएको हो। अधिवेशनबाट उपाध्यक्षमा लीलाराम गौतम, सचिवमा सुवास विश्वकर्मा, उपसचिवमा लक्ष्मण कटुवाल र हीराबहादुर थापा चयन भएका छन्। नगरको पदाधिकारी र कमिटीमा समेत युवाको सङ्ख्या अधिक रहेको एमालेले जनाएको छ।

रघुगङ्गाको पालिका र वडा कमिटीमा युवाकै वर्चश्व रहेको एमाले म्याग्दीका जिल्ला उपाध्यक्ष देवेन्द्रबहादुर केसीले जानकारी दिए। दीपक कार्कीको अध्यक्षतामा गठीत ५८ सदस्यीय एमालेको रघुगङ्गा गाउँपालिका कमिटीमा कमिटीको उपाध्यक्षमा गम पुन पाका र सचिव झलक शर्मा, उपसचिवद्धय यामकुमारी गर्वुजा र दिपा पुन युवा पुस्ताका छन्। रघुगङ्गा–३ नं वडा कमिटीका अध्यक्ष सुमन पौडेल, ५ का अध्यक्ष तेजु शेरपुञ्जा र ८ का अध्यक्ष तेजिन फगामी पनि युवा हुन्।

‘‘‘जिल्लाव्यापी रुपमा वडा र पालिकास्तरको नेतृत्व र कमिटीमा युवापुस्ताकै वर्चश्व देखिएको छ, राजनीतिमा युवाको आकर्षण बढ्नु सकरात्मक पक्ष हो, यसले पार्टीलाई बलियो र समाजलाई सचेत र जागरुक बनाउन रचनात्मक भूमिका खेल्नेछ,’ जिल्ला समन्वय समितिका प्रमुखसमेत रहेका एमाले उपाध्यक्ष केसीले भने, ‘अन्नपूर्ण गाउँपालिका अधिवेशन केही दिनपर सारिएको छ।’ रासस

 

प्रकाशित मिति: १४:४४ बजे, बिहीबार, कात्तिक ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्