मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कार्ययोजना तयार
कर्णाली, कात्तिक ९ : सुर्खेतमा मानव बेचबिखन तथा ओसारपसारका गतिविधि हुन थालेपछि त्यस्ता कार्य रोक्न कार्ययोजना तयार गरिएको छ। सामाजिक विकास मन्त्रालय, जिल्ला...कर्णाली, कात्तिक ९ : सुर्खेतमा मानव बेचबिखन तथा ओसारपसारका गतिविधि हुन थालेपछि त्यस्ता कार्य रोक्न कार्ययोजना तयार गरिएको छ। सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत सङ्घसंस्थाको सक्रियतामा कार्ययोजना तयार गरिएको हो।
गत असोज महिनामा प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल संयोजक रहेको मानव बेचबिखन तथा ओसारपसारविरुद्धको समितिले तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको संयोजकत्वमा कार्ययोजना निर्माण कार्यदल गठन गरेको थियो। कार्ययोजनाअनुसार कात्तिक महिनाभित्रै जिल्लाका सबै स्थानीय तहमा मानव बेचबिखन तथा ओसारपसारविरुद्धको पालिकास्तरीय समिति गठन गरिनेछ। कार्ययोजनामा आगामी मङ्सिर महिनाभित्र कर्णाली प्रदेश प्रवेश गर्ने नाका सुर्खेतको बबईमा सोधपुछ तथा अभिलेखीकरण कक्ष स्थापना गर्ने तथा बालबालिका खोजतलास समन्वय केन्द्र गठन गर्ने, वीरेन्द्रनगर बसपार्क तथा भेरीगङ्गाको छिञ्चु बसपार्कमा विद्युतीय सन्देश बोर्ड राख्ने, जिल्लामा रहेका बालबालिकाको अनुगमन गर्ने, मावन बेचबिखन तथा ओसारपसारसम्बन्धी भएका घटनालाई अभिलेख राख्ने तथा सचेतना कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ।
प्रजिअ रिजालले कार्ययोजनाका आधारमा काम गरे मानव बेचबिखन र ओसारपसारका घटनामा कमी आउने विश्वास व्यक्त गरे। उनले जिल्लाका नौवटै स्थानीय तहमा कार्ययोजनालाई कार्यान्वयन गर्न निर्देशन दिइसकेको बताए। सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले बसाइँसराइ, गरिबीले दलित समुदायका महिला र बालबालिका जोखिममा रहेको भन्दै बबई नाकामा सोधपुछ कक्ष सञ्चालन ल्याउन सके मानव बेचबिखन तथा ओसारपसारका क्रियाकलाप न्यूनीकरणमा मद्दत पुग्ने धारणा राखे। आवाज संस्थाका कार्यकारी निर्देशक पवित्रा शाहीले सुर्खेतका भेरीगङ्गा, गुर्भाकोट, पञ्चपुरी नगरपालिकाका साथै दैलेख, सल्यान, जाजरकोट र रुकुम पश्चिम जिल्ला पनि बेचबिखन र ओसारपसारको जोखिममा रहेको बताए।