बागलुङ र म्याग्दी जोड्न झोलुङ्गे पुल बन्ने

बलेवा, कात्तिक ७ : बागलुङ नगरपालिका–४ कुँडुलेको भुजेलचौर र म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर जोड्ने झोलुङ्गे पुल निर्माण गर्न थालिएको छ। दुवै जिल्लाका सर्वसाधारणलाई आवतजावतमा सहज गराउन पुल निर्माण गर्न थालिएको हो।
चालू आर्थिक वर्षमा विनियोजित बजेटबाट निर्माण कम्पनी छनौट गरी सस्पेन्सन ब्रिज डिभिजनले दुई जिल्लाको सिमानामा पर्ने ठूलो खोलामा ३८८ मिटर लामो र १०० मिटर अग्लो पुल निर्माण थालेको हो। पुल निर्माणको ठेक्का थानी हिमशिखर जेभीले पाएको छ। रु तीन करोडको लागतमा उक्त पुल निर्माण हुने भएको हो।
असोजको अन्तिम साता निर्माण सम्झौता गरेको कम्पनीले १० महिनामै पुल तयार गर्नुपर्नेछ। ‘पहिलो चरणको लेआउटको काम सकियो, अब फाउण्डेसनको काम सुरु हुन्छ,’ कम्पनीका प्रतिनिधि नरहरि खड्काले भने, ‘विवाद नभए तोकिएको समयअगावै पुल बुझाउँछौँ ।’ म्याग्दीको रत्नेचौरलाई बागलुङ बजारको पहुँचमा ल्याउनका लागि पुल महत्वपूर्ण हुने बागलुङ नगरपालिका–४ का अध्यक्ष ध्रुवबहादुर केसीले बताए।
दैनिक सयौँ सर्वसाधारण ओहोरदोहोर गर्ने ठूलो खोला खोँचमा पुल बनेपछि एक घण्टाको पैदलयात्रा चार मिनेटमै छोटिन्छ। ‘दुई गाउँलाई नै एकै ठाउँ बनाउने गरी पुल बन्छ,’ सांसद भुपेन्द्र थापाले भने, ‘पुलको एकतर्फ सरकारी जग्गा पर्छ, अर्कोतर्फको फउण्डेसन राख्ने ठाउँ व्यक्तिको जग्गाको हो, विवाद नगरी काम गरे समयमै पुल बन्छ, सबैलाई सजिलो हुन्छ।’
पुल निर्माणका लागि उहाँले पटकपटक नेपाल सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए । पुल दुई जिल्लाको मितेरी सीमा हुने भएको छ। पुल बनेमा रत्नेचौरमा उत्पादन हुने तरकारी बजारीकरण गर्न र पैदल मार्ग हुँदै बेनी बागलुङ गर्ने सर्वसाधारणका लागि सहज हुने छ।
बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्ने सबैभन्दा लामो झोलुङ्गे पुल निर्माण गरेको कम्पनीले नै यो पुलको काम थालेकाले समयमै काम हुने सर्वसाधारणमा आशा पलाएको छ । लामो पुल तोकिएको समयभन्दा केही महिनाअघि नै निर्माण गरिएको थियो।










-1779700642-1779702715.jpg)

