आपसी संवादमा आदरार्थी शब्द प्रयोग गर्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन
गृहमन्त्री बालकृष्ण खाणले नागरिकसँग संवादमा आदरार्थी शब्द प्रयोग गर्न सुरक्षाकर्मीलाई निर्देशन दिएका छन्। संगठनमा पनि सबै तहका सुरक्षाकर्मीलाई सम्मानार्थी शब्द प्रयोग गर्न उनले निर्देशन दिए।
काठमाडौं, कात्तिक ५ : गृहमन्त्री बालकृष्ण खाणले नागरिकसँग संवादमा आदरार्थी शब्द प्रयोग गर्न सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् । संगठनमा पनि सबै तहका सुरक्षाकर्मीलाई सम्मानार्थी शब्द प्रयोग गर्न उनले निर्देशन दिए ।
गृह मन्त्रालयका कर्मचारीसहित प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरूलाई मन्त्री खाणले यस्तो निर्देशन दिएका हुन् ।
कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेल, गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव सुनिल खनाल सहभागी थिए ।
संगठनमा बोलचालमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न गृहमन्त्रीबाट निर्देशन भएको एआईजी पोखरेलले जानकारी दिए । ‘मन्त्रीज्यूबाट संगठनमा बोलचाल र निर्देशनमा ‘सम्मानार्थी’ शव्द प्रयोग गर्न निर्देशन भएको छ,’ उनले भने, ‘अब संगठनमा कसैले कसैलाई ‘तँ’ भन्न मिल्दैन । ‘सम्मानाथी’ शब्द प्रयोग गर्नुपर्छ ।’
अहिले प्रहरी, सशस्त्र प्रहरी र राअविले ‘मुस्कानसहितको सेवा’ अभियान सञ्चालन गरिरहेका छन् । अब सम्मानसहितको सेवा सञ्चालन गर्नुपर्ने निर्देशन गृहमन्त्री खाणले दिएका हुन् ।
यसैबीच, गृह मन्त्रालयले प्रहरी र सशस्त्र प्रहरीको रासन भत्तामा १५ प्रतिशत बढाउन बजेटमा गरिएको व्यवस्था कार्यान्वयन गर्ने तयारी थालेको छ ।
आर्थिक वर्ष ०७८–७९ को बजेट वक्तव्यको बुँदा नम्बर ३९२ नम्बरमा उल्लेखित १५ प्रतिशत वृद्धि भएको रासन रकम उपलब्ध गराउने तयारी गरिएको हो ।
आगामी मन्त्रिपरिषद् बैठकमा पेश गर्न गृहमन्त्री खाणले रासन भत्ता वृद्धिसम्बन्धी फाइल स्वीकृत गरेका छन् । मन्त्रिपरिषदबाट निर्णय भएपछि गत १ साउनदेखि नै प्रहरी र सशस्त्र प्रहरीका वृद्धि भएको रासन भत्ता वितरण थालिने छ ।




-1757142095.jpg)




-1757142095.jpg)

