बाढीपहिराेपीडितका लागि चाँडै राहतको पहल हुन्छ : प्रधानमन्त्री देउवा
डडेल्धुरा, कात्तिक ४ : सुदूरपश्चिमका पहाडी जिल्ला डोटी र बझाङ पुगेर गृहजिल्ला डडेल्धुरा पुगेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढीपहिराेपीडितका लागि चाँडै...
डडेल्धुरा, कात्तिक ४ : सुदूरपश्चिमका पहाडी जिल्ला डोटी र बझाङ पुगेर गृहजिल्ला डडेल्धुरा पुगेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढीपहिराेपीडितका लागि चाँडै राहतको व्यवस्था गर्ने बताएका छन्।
आइतबारदेखि लगातार परेको वर्षाका कारण सुदूरपश्चिमका विभिन्न जिल्लामा धेरै धनजनको क्षति भएको छ भने सडक, बाटोघाटोका साथै पाक्नै लागेका धानबाली र अन्य पशुचौपायाका साथै अन्नबालीसमेत नष्ट गरेको छ।
सुदूरपश्चिममा यसै साता भएको वर्षाले भएको क्षतिको विवरण लिन अर्थमन्त्रीसहितको भ्रमणमा प्रभावित जिल्ला पुग्नुभएका प्रधानमन्त्री देउवालाई स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, पत्रकारहरुले जिल्लाका समस्याबारे कुरा राखेका थिए।
तीन दिनको अविरल वर्षाका कारण जिल्लामा दुईजनाको पहिरामा परी ज्यान गएको छ भने दर्जनभन्दा बढी मानिस घाइते भएको जिल्ला समन्वय प्रमुख गणेशराज भट्टले प्रधानमन्त्री देउवालाई जानकारी गराए।
प्रधानमन्त्री भएपश्चात् पहिलोपटक गृहजिल्ला आएका प्रधानमन्त्री देउवाले प्राकृतिक घटनाबाट पुगेको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। उनले मृतक र घाइते परिवारका साथै धनजनको क्षति भएका परिवारलाई चाँडै राहतको व्यवस्था गर्ने बताए।
सुदूरपश्चिम अवलोकन भ्रमणमा रहनुभएका प्रधानमन्त्री देउवा गृहजिल्ला डडेल्धुरा पुगी आजै कञ्चनपुरका लागि निस्केका छन्।
बाढीपहिरो प्रभावित क्षेत्र बझाङको थलारा, चैनपुर, डोटीको दिपायल, बैतडीको ढुङ्गाड निरीक्षणपछि उहाँ गृहजिल्ला डडेल्धुरा आइपुगेका हुन्।
सदरमुकाम नजिकै रहेको अमगरगढी नगरपालिका–१ दहस्थित सैनिक ब्यारेकमा यहाँका जनप्रतिनिधिसँग ब्रिफिङ लिएपछि उनी जोगबुढाको अवस्था अवलोकन गरी प्रधानमन्त्री देउवा कञ्चनपुरतर्फ प्रस्थान गरेका हुन्।
जोगबुढाबाट प्रधानमन्त्री देउवा कञ्चनपुरको महेन्द्रनगर, दोधारा, चाँदनी र कैलालीको धनगढी जानेछन्। धनगढीबाट उहाँ शुक्रबार काठमाडौँ फर्किने कार्यक्रम छ।
अविरल वर्षाका कारण सुदूरपश्चिममा ३० जनाको मृत्यु भइसकेको छ भने २४ जना अझै बेपत्ता छन्। यस्तै बाढीपहिरामा परेर १६ जना घाइते भएको प्रहरी तथ्याङ्कमा उल्लेख छ।




-1757142095.jpg)




-1757142095.jpg)

