Kathmandu Press

प्रधानमन्त्रीसहितको टोली बाढीप्रभावित क्षेत्रमा : पीडितको तत्काल उद्धार गर्न निर्देशन

डोटी, कात्तिक ४ : प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी प्रभावित नागरिकलाई तत्काल उद्धार तथा सुरक्षित स्थानमा व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखहरुलाई निर्देशन...
प्रधानमन्त्रीसहितको टोली बाढीप्रभावित क्षेत्रमा : पीडितको तत्काल उद्धार गर्न निर्देशन
सुदूरपश्चिममा बाढीपहिरो र डुबानको अवस्थाको स्थलगत अवलोकन गर्ने क्रममा दीपायलमा बाढी र पहिरोले गरेको क्षतिबारे जानकारी लिँदै प्रधानमन्त्री शेरबहादुर देउवा।

डोटी, कात्तिक ४ : प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी प्रभावित नागरिकलाई तत्काल उद्धार तथा सुरक्षित स्थानमा व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका छन्।

बाढीबाट प्रभावित भएकालाई सरकारले राहत दिने तथा बाढीपहिराले घर भत्किएकाहरुको घर निर्माणका लागि आर्थिक सहयोग दिने प्रधानमन्त्री देउवाले बताए। उनले भने, ‘बाढी प्रभावितको स्वास्थ्योपचारदेखि आवास निर्माणमा सरकारले सहयोग गर्नेछ, विपत्तिका बेला सबैले सहयोग गर्न आवश्यक रहेको छ, तपाइहरूले प्रभावितलाई चुस्त रुपमा सेवा दिनुहोला।’ 

आज बाढी प्रभावित क्षेत्र सुदूरपश्चिमको डोटी आइपुगेका प्रधानमन्त्री देउवाले यहाँका बाढी प्रभावित क्षेत्रका व्यक्तिहरुको उद्धार र राहतका लागि निर्देशन दिएका हुन्। 

प्रधानमन्त्री देउवाको नेतृत्वमा आएको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आले एवं पूर्वमन्त्रीहरू एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर छन्। 

प्रधानमन्त्रीसहितको उक्त टोली बाढीबाट प्रभावित भएको सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाको निरीक्षणका लागि जाने क्रममा अहिले दिपायल आइपुगेको हो। 

प्रधानमन्त्रीसहितको सो टोली आज (बिहीबार) बिहान काठमाडौंबाट सुर्खेत हुँदै दीपायल आएको हो। टोलीले यहाँका बाढीले क्षति गरेका स्थानको हवाई निरीक्षण गरेको थियो। 

प्रधानमन्त्री देउवासँगै निरीक्षणमा आएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री आलेले बाढीपहिरामा ज्यान गुमाएका, घरबारविहीन भएका नागरिकलाई सरकारी निकायबाट राहतसहित आर्थिक सहयोग प्रदान गर्ने निर्णय भएको बताए। उनले भने, ‘बाढी–पहिरापीडित नागरिकको साथमा सरकार छ, पीडित भएका नागरिकको समस्या समाधान सरकारले गर्नेछ।’

सोही क्रममा मन्त्री आलेले बाढीपहिराले अवरुद्ध भएका यहाँका राजमार्ग तथा ग्रामीण क्षेत्रका सडक सञ्चालनका लागि सम्बन्धित मन्त्रालयमार्फत निर्देशन भइसकेकाले तत्काल काममा खटिन कर्मचारीलाई पनि आग्रह गरे। 

डोटीमा मात्रै बाढी–पहिराका कारण १४ जनाको ज्यान गइसकेको तथा एक जना बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिएका थिए। सोही क्रममा प्रजिअ विष्टले जिल्लामा बाढी–पहिराले १३ जना घाइते, ३५ चौपाया मृत्यु, २५ घाइते तथा २० चौपाया बेपत्ता, घरधुरी ११०, विस्थापित नागरिक ५०० तथा दुईवटा झोलुङ्गे पुलमा क्षति भएको विवरण पेस गरेका थिए।

बाढीको क्षतिबारे दीपायलमा जानकारी लिएर उक्त टोली बझाङ चैनपुर जाने कार्यक्रम तय भएको छ। यसैगरी उक्त टोलीले बझाङमा बाढी–पहिराले गरेको क्षतिका विषयमा अनुगमन तथा निरीक्षण गरी बैतडी र डोटीको सीमा क्षेत्र ढुंगाड जाने कार्यक्रम रहेको र ढुंगाडमा भएको क्षतिका विषयमा स्थलगत निरीक्षण गरी डडेल्धुरा सदरमुकाम पुग्ने बताइएको छ। 

आजै उक्त टोली जोगबुढाबाट कञ्चनपुर पुगी सदरमुकामका साथै त्यहाँका बाढी प्रभावित क्षेत्र दोधारा–चाँदनी, ब्रह्मदेव क्षेत्रमा बाढीले गरेको क्षतिबारे निरीक्षण अनुगमन गरी कैलालीको धनगढी फर्किने कार्यक्रम तय भएको छ।

प्रकाशित मिति: १२:४५ बजे, बिहीबार, कात्तिक ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्