बाढी पहिरो क्षेत्रमा उद्धारमा सेनाको सक्रियता
केही दिनदेखिको बर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी पहिरो पीडितको उद्धारमा नेपाली सेना सक्रिय छ ।
काठमाडौं, कात्तिक ३ : केही दिनदेखिको बर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी पहिरो पीडितको उद्धारमा नेपाली सेना सक्रिय छ ।
महाकाली नदीमा आएको बाढीका कारण कञ्चनपुर भीमदत्त–९ ब्रह्मदेवका पाँचजनालाई सेनाले हवाई उद्धार गरेको छ । सोही जिल्लाको दोधारा चाँदनी नगरपालिका–८, ९ र १० तथा भिमदत्त–११ र १२ मा डुबान प्रभावितको उद्धार गरी सेनाले खाद्यान्नलगायत राहत सामग्री वितरण गरेको छ ।
यस्तै, कर्णाली नदीमा आएको बाढीका कारण कालिकोट लालिघाट र जितेगडा बजारका केही पसलका सामग्री सुरक्षित स्थानमा स्थानान्तरण गर्न सेनाले सहयोग गरेको छ । सोही जिल्लाको महाबै गाउँपालिका–७ राम्नीमा पहिरोका कारण एक घर पुरिएको छ । त्यस क्षेत्रका ६० घरधुरीका करिब ३०० जनाको सेनाले उद्धार गरेको छ ।
बैतडी दशरथचन्द–४ मा पहिरो गई घरमा क्षति पुगेको छ । सेनाले पहिरो पन्छाएको छ । बझाङ जयपृथ्वी नगरपालिका–३ पणेशमा पहिरो प्रभावित स्थानीय बासिन्दाको माछा पोखरी र कुखुरा फार्म र घरका सामान सेनाले सुरक्षित स्थलमा सारेको छ ।
डडेलधुरा अमरगढी नगरपालिका–१ भातकाडामा पहिरो प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारेको छ । घाइतेलाई अस्पताल पुर्याएको छ ।
यस्तै, कैलाली टीकापुर नगरपालिकामा कर्णाली नदीले तीव्र कटान सुरु गरेकाले उक्त नगरपालिकाका वडा नं. ५, ६, ७ र ८ का साथै भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाका अधिकांश स्थान डुबानको उच्च जोखिममा परेका छन् । सेनाले कटान रोक्न तटबन्ध मर्मत र उद्धारको काम गरिरहेको छ ।
बर्दिया राजापुर नगरपालिका–१, २ र ३ का डुबान प्रभावित इलाकाबाट स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा पु¥याएको छ । यस्तै, डोटी दिपायल सिलगढी नगरपालिका–४, ५ र ६ मा पहिरोका कारण घर भत्किएका परिवार, खाद्यान्न र लत्ताकपडा सुरक्षित स्थानमा स्थानान्तरण गर्न सहयोग गरेको छ ।
यस्तै, सुनसरी इटहरी उपमहानगरपालिकाका तरहरा, पानीपिया इलाकामा बस्ती डुबानमा परी फसेका पाँचजनाको उद्धार गरेको छ । मोरङ विराटनगर–५ हिरियाटोलबाट करिब ५० जनाको उद्धार गरेको छ।
पाँचथर फिदिम–४ जोरसाल इलाकामा पहिरोका कारण एक घर पुरिँदा मृत्यु भएका दुईजनाको शव निकाल्न सेनाले सहयोग गरेको छ । यस्तै, धनकुटा चौबीसे गाउँपालिका–१ मा पहिरोका कारण एक घर पुरिँदा चारजना बेपत्ता भएका छन् । तीमध्ये तीनजनाको सेनाले सकुशल उद्धार गरेको छ ।




-1757142095.jpg)




-1757142095.jpg)

