रोकिएका जिल्ला अधिवेशन छठपछि : सहमहामन्त्री डा. महत
चितवन, कात्तिक ३ : कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन अन्तर्गतका रोकिएका जिल्ला अधिवेशनहरू छठपछि सुरु गरिने बताएका छन्।आज (बुधबार)...
चितवन, कात्तिक ३ : कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन अन्तर्गतका रोकिएका जिल्ला अधिवेशनहरू छठपछि सुरु गरिने बताएका छन्।
आज (बुधबार) चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले जिल्लाको सदस्यताको विवाद तिहार अघि नै समाधान हुने बताए। उनले भने, ‘विभिन्न कारणले रोकिएका जिल्ला अधिवेशनहरु छठपछि हुन्छ र तिहारअघि सबै जिल्लाको सदस्यतासम्बन्धी विवाद समाधान भइसक्छ।’
सहमहामन्त्री डा. महतले स्थानीय तह, प्रदेश र सङ्घीय निर्वाचनमा नेपाली कांग्रेसले नै बहुमत प्राप्त गर्ने गरी पार्टी अघि बढ्ने बताए।
उनले भने, ‘अब कांग्रेस एकल बहुमत प्राप्त गर्ने गरी अघि बढ्छ, पार्टीको आगामी महाधिवेशनमा पार्टी एक ढिक्का हुन्छ र यसले आगामी सबै तहका निर्वाचनमा पार्टीमा बहुमत हासिल गर्न पूरा सहयोग पुग्छ।’
पार्टीलाई महाधिवेशन केन्द्रीत मात्रै नभएर तीन तहको निर्वाचन केन्द्रीत भएर अघि बढाउने उनको भनाइ थियो। गठबन्धनको सरकार सञ्चालन गर्न सहज नभएको भन्दै उनले सबैलाई मिलाएर अघि बढ्ने बताए।
सरकारको एक सय दिन सफल रहेको भन्दै उहाँले सरकारले अरु धेरै कामका अतिरिक्त चारवटा महत्वपूर्ण काम गरेको बताए। उनले भने, ‘सरकार गठन भएपछि जनतालाई कोभिड विरुद्धको खोप, पराराष्ट्र नीति, भ्रष्टाचार नियन्त्रण र संवैधानिक आयोगमाथिको हस्तक्षेप रोकिएको छ।’
वर्षाका कारण भएको क्षतिको व्यवस्थापनमा सरकार लाग्नुपर्ने बताउँदै उनले उचित राहतको व्यवस्था गर्नुपर्छ भने। उनले हालैको बाढीपहिराका साथै चाडपर्वको समयमा भएका दुर्घटनाका मृतक र घाइतेलाई उचित क्षतिपूर्ति दिन आफूले प्रधानमन्त्रीलाई आजै भेटेर आग्रह गरेको पनि बताए।




-1757142095.jpg)






