नेपालगञ्जमा भीषण आगलागी, दर्जनभन्दा बढी पसल खरानी
नेपालगञ्ज, साउन २४ : बाँकेको नेपालगञ्जस्थित सुर्खेतरोडको गुरुद्वारा अगाडि रहेका पसलहरुमा गय राति भिषण आगलागी भएको छ। आगलागीमा एक दर्जनभन्दा बढी पसल खर....
नेपालगञ्ज, साउन २४ : बाँकेको नेपालगञ्जस्थित सुर्खेतरोडको गुरुद्वारा अगाडि रहेका पसलहरुमा गय राति भिषण आगलागी भएको छ। आगलागीमा एक दर्जनभन्दा बढी पसल खरानी भएका छन्।
नेपालगञ्जको गुरुद्वारादेखि उपमहानगरपालिका छेउसम्मका दर्जनभन्दा बढी पसल आगलागीबाट खरानी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। राति ११ बजेबाट सुरू भएको आगो आज बिहान २ बजेतिर नियन्त्रणमा आएको थियो।
स्थानीय बासिन्दा सरोजकुमार चन्दका अनुसार नेपालगञ्जका दुई, कोहलपुरको एक र नेपालगञ्ज विमानस्थलमा रहेको एक गरी चार दमकललाई आगलागी नियन्त्रणमा लिन हम्मेहम्मे परेको थियो। ‘फर्निचर पसल रहेकाले आगो नियन्त्रणमा आउन गाह्रो भएको थियो,’ प्रत्यक्षदर्शी चन्दले भने। चार दमकलसहित प्रहरीले करीब तीन घण्टापछि आगलागी नियन्त्रणमा लिएको हो।
आगलागीबाट करोडौंको क्षति भएको जनाएको छ। क्षतिको एकीन विवरण अध्ययनपछि मात्रै आउने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले बताए। ‘एक दर्जनभन्दा बढी फर्निचर पसल जलेका छन्, अध्ययन नगरेरै वास्तविक क्षति कति भएको छ भन्ने थाहा हुँदैन,’ एसपी वलीले भने।
फर्निचर पसलमा आगलागी भएपछि विपीचोक नजिकै घना बस्तीका बीचमा रहेको पेट्रोलपम्पमा आगलागी हुनबाट भने जोगाइएको छ। ‘पेट्रोलपम्पमा आलागी भएको भए नेपालगञ्जमा ठूलो विनाश निम्तिने थियो,’ उनले भने, ‘पम्पमा आगलागी हुन नदिन हामीले गरेको निरन्तर प्रयास सफल भयो। यसबाट पेट्रोलपम्पका साथै घना बस्ती ठूलो जोखिमबाट बचेको छ । हामीले ठूलो विनाशलाई टारेका छौं।’
यसअघि मङ्गलबार नेपालगञ्ज–२ घरबारीटोलमा रहेका दुई कपडा पसलमा आगजनी हुँदा करीब दुई करोडभन्दा बढीको क्षति भएको थियो। आगलागीबाट प्रेरणा फेन्सी स्टोर र बडिमालिका अर्डर एण्ड सप्लायर्समा रहेका सबै सामान जलेर नष्ट भएका थिए।