धानबाली क्षतिको मूल्यांकन गरी कृषकलाई क्षतिपूर्ति दिन एकीकृत समाजवादीको माग
काठमाडौं, कात्तिक ३ : तीन दिन यताको अविरल वर्षाले धानबालीमा पुर्याएको क्षतिको यथोचित मूल्यांकन गरी पीडित कृषकलाई राहत र क्षतिपूर्ति दिन नेकपा (एकीकृत समाजवादी)...
काठमाडौं, कात्तिक ३ : तीन दिन यताको अविरल वर्षाले धानबालीमा पुर्याएको क्षतिको यथोचित मूल्यांकन गरी पीडित कृषकलाई राहत र क्षतिपूर्ति दिन नेकपा (एकीकृत समाजवादी) ले सरकारसँग माग गरेको छ।
आज (बुधबार) पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले एक विज्ञप्ति जारी गरेर प्राकृतिक विपत्को व्यवस्थापन तथा न्यूनीकरणका लागि सरकारले अल्पकालीन तथा दीर्घकालीन योजना बनाई कार्यान्वयन गर्नुपर्नेमा पनि जोड दिएका छन्।
‘वर्षाकै कारण नेपाली कृषक जनताको प्रमुख खाद्यान्न बाली धान भित्र्याउने कार्य प्रभावित भएको छ। काट्न ठिक्क पारिएको र काटेर थन्क्याउने अवस्थाका धान क्षति हुँदा नेपाली कृषक समुदाय पीडामा छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘धानबालीसहित विभिन्न कृषिकार्यमा भएको क्षतिको यथोचित मूल्यांकन गरी पीडित कृषकलाई राहत र क्षतिपूर्ति दिनका निम्ति हाम्रो पार्टी वर्तमान सरकारसमक्ष जोडदार माग गर्दछ। कृषक जनताको यो पीडामा नेकपा (एकीकृत समाजवादी) साथमा रहेको पनि हामी स्पष्ट पार्दछौँ।’
एकीकृत समाजवादीले बाढी, पहिरो र सडक दुर्घटनाका कारण ज्यान गुमाउने सम्पूर्ण मृतकप्रति पनि श्रद्धाञ्जली व्यक्त गरेको छ।
डुबान समस्या र सडक दुर्घटनामा परी घाइते तथा विभिन्न समस्यामा परेकाको उपचार, राहत र उद्धारका निम्ति देशभरका पार्टी कमिटी एवं जनसंगठनलाई परिचालित हुन अध्यक्ष माधव कुमार नेपालले निर्देशन दिइसकेको पनि विज्ञप्तिमा उल्लेख छ।





-1757142095.jpg)






