बाढीका कारण कैयौं घर डुबानमा, धानबालीमा पनि क्षति
काठमाडौं, कात्तिक ३ : तीन दिनयताको अविरल वर्षका कारण मुलुकका विभिन्न स्थानमा बाढी पस्दा कैयौं घर डुबानमा परेका छन्।कैलालीको टीकापुर नगरपालिका–५ साईपुरस्थित कर्णाली नदीबाट...
काठमाडौं, कात्तिक ३ : तीन दिनयताको अविरल वर्षका कारण मुलुकका विभिन्न स्थानमा बाढी पस्दा कैयौं घर डुबानमा परेका छन्।
कैलालीको टीकापुर नगरपालिका–५ साईपुरस्थित कर्णाली नदीबाट र टिकापुर नगरपालिका–८ कालाकुण्डा एरिया हुँदै बग्ने मोहना नदीबाट बुधबार बिहान आएको बाढीका कारण कालाकुण्डाको चौगुर्दी र अर्नाफाँटा गाउँका ८० घर डुबानमा परेका छन्।
उक्त स्थानमा तत्काल प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले ४० जनालाई सोही ठाउँस्थित कालीका माविमा स्थानान्तरण गरेको छ भने अन्य मानिसहरुलाई आफन्तको घरमा सुरक्षति राखिएको छ।
यसैगरी कैलालीको कैलारी गाउँपालिका–३ स्थित खल्ला कटानमा बसोबास गर्दै आएका करिब २५ घर परिवारको बस्तीमा मंगलबार साँझ मोहना नदीको बाढी आई जमीन कटान गरेको छ। इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले आवश्यक उद्धार कार्य गरिरहेको छ।
कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका–१ बन्साह र सोही नगरपालिका–१२ कालागौडी बस्ने कैलाश भट्टलगायत २४ जनाको खेतबारीमा काटेर राखेको धानबाली भगवती सामुदायिक वनबाट निस्किने नालाको पानीले मंगलबार बिहान बगाउँदा करिब ५ लाख २२ हजार रूपैयाँ बराबरको धानबाली नष्ट भएको छ।
झापाको गौरीगंज गाउँपालिका–१ जोडा होकलबाडी बस्तीमा मंगलबार दिउँसो माइखोलाबाट आएको बाढीले करिब ४० घर डुबानमा परेका छन्। उक्त स्थानमा तत्काल प्रहरी चौकी कुञ्जिबारीबाट खटिएको प्रहरीले आवश्यक उद्धार कार्य गरिरहेको छ।
यसैगरी झापाको गौरीगंज गाउँपालिका–२ भाकुरमारीमा माईखोलाको पानीको बहावले कटान गरी बाढी बुधबार बिहान पस्दा भाकुरमारी बस्ने गौरीसंग ताजपुरियालगायत २७ जनाको घर डुबानमा परेको छ। उक्त स्थानमा प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरीले आवश्यक उद्धार कार्य गरिरहेको छ।
अर्घाखाँचीको अविरल वर्षाको कारण बाँगीखोलामा बाढी आई पानीको भल आज (बुधबार) बिहान बजार एरिया चुत्राबेंसी, भक्तिटोला आसपास खोला किनारको घरहरूमा पसेको छ।
नेपाली सेना, जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र सशस्त्र प्रहरी बलसमेतबाट तत्काल खटिएको सुरक्षाकर्मीले आवश्यक उद्धार कार्य गरिरहेको छ। क्षतिको बिवरण हाल खुलेको छैन।




-1757142095.jpg)






