बाढीपहिरोले ठाउँठाउँमा सडक अवरोध
काठमाडौं, कात्तिक ३ : बाढीपहिरोका कारण मुलुकका विभिन्न स्थानमा सडक अवरोध भएको छ। धनकुटाको सागुरीगढी गाउँपालिका-७ घन्टे फेदीस्थित कोसी लोक राजमार्गमा अविरल वर्षाको कारण मंगलबार...
काठमाडौं, कात्तिक ३ : बाढीपहिरोका कारण मुलुकका विभिन्न स्थानमा सडक अवरोध भएको छ।
धनकुटाको सागुरीगढी गाउँपालिका-७ घन्टे फेदीस्थित कोसी लोक राजमार्गमा अविरल वर्षाको कारण मंगलबार साँझ पहिरो जाँदा सडक अवरोध भएको छ। प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ।
कालिकोटको तिलागुफा नगरपालिका–४ राचुलीस्थित कर्णाली राजमार्गमा मंगलबार दिउँसो पहिरो जाँदा सडक पूर्णरूपमा अवरोध भएको छ। यसैगरी कालिकोटकै खाँडाचक्र नगरपालिका–७ सिमखेतस्थित कर्णाली राजमार्गमा मंगलबार पहिरो जाँदा सडक अवरोध भएको छ। उक्त स्थानमा तत्काल खटिएको प्रहरीले अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ।
संखुवासभाको चैनपुर नगरपालिका–११ स्थित सभाखोला–लेगुवा सडकमा सानो अक्करको भिरबाट मंगलबार दिउँसो पहिरो जाँदा सडक पूर्ण रूपमा अवरोध भएको छ। अस्थायी प्रहरी पोष्ट सभाखोला समेतबाट खटिएको प्रहरीले अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ।
साथै उक्त स्थानमा को१क ३५३५ नम्बरको जेसिबीले पहिरो पन्छाउने क्रममा माथिबाट ढुंगा झरी लाग्दा चालक बस्ने बायाँ साइडको सिसा फुटेको र जेसिवी चालकसमेत समान्य घाइते भएका छन्।
यसैगरी संखुवासभाको धर्मदेवी नगरपालिका–३ गिदेनी खोलास्थित कोसी राजमार्गमा अविरल वर्षाका कारण मंगलबार साँझ पहिरो जाँदा सडक पूर्ण रूपमा अवरोध भएको छ। प्रहरी चौकी टुटेदेउरालीबाट खटिएको प्रहरीले अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ।




-1757142095.jpg)






