बाढीपहिरोमा परी डोटीमा आठ जनाको मृत्यु
सिलगढी, कात्तिक ३ : अविरल वर्षापछि आएको बाढी र पहिरामा परी डोटीमा आठ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्।बाढी...
सिलगढी, कात्तिक ३ : अविरल वर्षापछि आएको बाढी र पहिरामा परी डोटीमा आठ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्।
बाढी र पहिरामा परी मृत्यु हुनेमा जिल्लाको शिखर नगरपालिका–११ की ३५ वर्षीया मन्दरा बलायर, जोरायल गाउँपालिका–३ का ६२ वर्षीय जोगी सार्की, सोही गाउँपालिका–४ का ४२ वर्षीय शेरबहादुर विक, १८ वर्षीय मोहन विक, १३ वर्षीया पवित्रा विक र १६ वर्षीय रविन विक रहेको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए।
त्यस्तै, तीन दिनदेखिको लगातारको बर्सातका कारण सायल गाउँपालिका–६ मेल्लेखमा पहिरो गई स्थानीय वीरबहादुर कुन्जेडाको घर भत्किँएको छ। घर भत्किँदा च्यापिएर उनका छोरा १५ वर्षीय सागर र ११ आशिष कुन्जेडाको मृत्यु भएको प्रहरीले जनाएको छ।
सायल गाउँपालिका–१ स्थित छत्रे खोलाले बगाउँदा स्थानीय ७४ वर्षीय वीरे रोकाया बेपत्ता भएको अस्थायी प्रहरी पोष्ट छपालिले जनाएको छ। उनको खोजीकार्यका लागि प्रहरी टोली परिचालन भए पनि फेला पार्न सकिएको छैन।
केआइसिंह गाउँपालिका–४ मा पहिराको जोखिममा परेकाहरु विस्थापित भई गाउँपालिकाको कार्यालय, स्वरोजगारको कार्यालय, प्रहरी चौकी वायल र स्थानीय मन्दिरमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
यसैगरी दिपायल सिलगढी नगरपालिका–८ पाङरिमा अन्दाजी १५ परिवार पहिराको जोखिममा परी विस्थापित भएका छन्। उनीहरुलाई स्थानीय दुर्गा आधारभूत विद्यालयमा राखिएको प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिए।




-1757142095.jpg)






