Kathmandu Press

२२ घण्टापछि सेनाद्वारा पाँच जनाको उद्धार

२२ घण्टापछि सेनाद्वारा पाँच जनाको उद्धार

काठमाडौं, कात्तिक २ : नेपाली सेनाले कञ्चनपुरको भीमदत्तनगरपालिका–९ मसेट्टीका दुई बालबालिकासहित पाँच जनाको महाकाली नदीबाट २२ घण्टापछि सकुशल उद्धार गरेको छ ।

लगातारको वर्षापछि महाकाली नदीमा आएको बाढीले मसेट्टीका लक्ष्मण नायक उनकी श्रीमती शान्ति, दुई छोरा र स्थानीय दीर्घमती देवी खड्कालाई हेलिक्टरमार्फत उद्धार गरेको हो । सोमबार साँझदेखि महाकाली बस्तीमा उर्लिएपछि कुखुरा र गाउँ गोठको रेखदेख गर्न गएका उनीहरु बाढी आएपछि त्यही फसेका हुन् ।

मङ्गलबार बिहानैबाट सेनाको टोली उद्धारका लागि त्यहाँ जान खोजे पनि प्रतिकूल मौसमका कारण उद्धारस्थल पुग्न सकेको थिएन । “स्थलमार्गबाट जान अन्य खहरे खोला र बाढीले जानसक्ने अवस्था नै थिएन्”, यहाँस्थित श्रीदल गुल्मका गुल्मपति सेनानी भीष्म केसीले भने, “स्थलमार्गबाट गएर त्यहाँ उद्धार सम्भव नभएपछि सुर्खेतबाट हेलिकप्टर बोलाइएको हो ।”

मङ्गलबार दिउँसो यहाँस्थित श्री नं २५ बाहिनी अड्डा पुगेको हेलिकप्टरले मसेटटी पुगेर तीन चरणमा फसेकाको उद्धार गर्दै गाउँको जिम्मा लगाएर फर्किएको छ । “फसेका स्थानीयलाई उद्धार गर्न चारैतिर रुख हुँदा केही कठिनाई भए पनि सकुशल उद्धार गर्न सक्यौँ”, उद्धारको नेतृत्व गरेका पाइलट प्रमुख सेनानी रचन श्रेष्ठले भने, “उद्धारमा हाम्रो तालीम प्राप्त टिम पनि सक्रिय रह्यो ।”  

सेनाले डोरीको सहायताबाट उद्धार गरेपछि खुसीले भक्कानिँदै स्थानीय शान्ति नायकले आफूहरुले दोस्रो जीवन पाएको बताए । 

प्रकाशित मिति: १९:४१ बजे, मंगलबार, कात्तिक २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्