बझाङको थलारामा पहिराले ७ घर पुरिए, २३ जना बेपत्ता
बझाङको थलारा गाउँपालिका–४ डिख्लामा गएराति पहिरो जाँदा २३ जना बेपत्ता भएका छन्।
बझाङ, कात्तिक २ : जिल्लाको थलारा गाउँपालिका–४ डिख्लामा गएराति पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् ।
गाउँभन्दा माथिको ढोगदिना भन्ने ठाउँबाट पहिरो खस्दा दुई गाउँका बासिन्दा विस्थापित भएका छन् भने भने सात घर पुरिएका छन् ।
बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका पाँचजना छन् । गगने सार्की रोजगारीका लागि भारतमा हुनुहुन्छ । उनका माइला छोरा काले सार्की मात्र सकुशल छन् ।
तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका बासिन्दा विस्थापित भई त्रिभुवन मावि महेन्द्रधारमा बसेका छन् । गाउँ पहिराको जोखिममा परेपछि सयभन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेको शान्ति मावि पाराकाट्नेका शिक्षक मदनबहादुर साउदले बताए ।
सुदूरपश्चिमका पहाडी जिल्लामा सञ्चार सेवा अवरुद्ध हुँदा थप विवरणका लागि सम्पर्क हुन सकेको छैन । बाढीले सडक अवरुद्ध भएको र नेटवर्क नहुँदा समयमै खबर नपाएकाले उद्धारमा समस्या भइरहेको स्थानीयवासीले बताएका छन् । उनीहरूले पहिरोमा परेर बेपत्ता भएको भन्ने खबर आएको तर लगातारको वर्षाले बाटो अवरुद्ध भएकाले घटनास्थलसम्म जान नसकिएको बताएका छन् । रासस




-1757142095.jpg)






