Kathmandu Press

पहिरो बाढीमा परी ४ जनाको मृत्यु : प्रहरी

केही दिनयताको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी देशभर चारजनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
पहिरो बाढीमा परी ४ जनाको मृत्यु : प्रहरी

काठमाडौं, कात्तिक २ : केही दिनयताको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी देशभर चारजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार डोटी सायल गाउँपालिका–६ मेल्लेखका वीरबहादुर कुन्जेडाको घर सोमबार राति भत्किँदा पुरिएर उनका दुई छोरा १४ वर्षीय सागर र ११ वर्षीय आशिषको मृत्यु भएको छ । घर भत्किँदा वीरबहादुर, उनकी श्रीमती वासुदेवी र सात वर्षीया छोरी विन्दा घाइते भएका छन् ।

यस्तै, सुनसरी धरान उपमहानगरपालिका–१३ नागेश्वर मार्गका विशाल राईको कच्ची घर मंगलबार दिउँसो पहिरोमा पुरिँदा उनकी आठ वर्षीया छोरी निसु र चार वर्षका छोरा निहानको मृत्यु भएको छ । उनीहरू पहिरोमा पुरिएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी धरानबाट खटिएको टोलीले खोजी गर्ने क्रममा दुवै जनाको शव फेला पारेको हो ।

डडेल्धुरा अमरगढी नगरपालिका–१ तडीपाटाका भीम रावलको कच्ची घर सोमबार राति पहिरोमा पुरिँदा घर पूर्ण रूपमा क्षति भएको छ । पहिरोमा परेर उनकी बुहारीसमेत दुईजना घाइते भएका छन् । घरसँगै रहेको गोठमा भैंसी, गाई, गोरु, बाख्रा,  कुखुरा, खाद्यान्नलगायत सामान पुरिएका छन् ।

डडेल्धुराकै पर्शुराम नगरपालिका–६ तातापानीस्थित महाकाली नदीको बहाव बढेर दुई सय ५० रोपनी जमिन कटान गर्दा २८  घरका एक सय ८० जना जोखिममा परेका छन् । 

घटनास्थलमा तत्काल नजिकको प्रहरी कार्यालयबाट खटिएको टोली अन्य सुरक्षा निकायसँगको समन्वयमा उद्धारमा सक्रिय रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १७:४८ बजे, मंगलबार, कात्तिक २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्