Kathmandu Press

परराष्ट्रमन्त्री डा. खड्का र चिनियाँ समकक्षी वाङबीच फोन वार्ता- एकअर्का मुलुकको भ्रमण गर्ने सहमति

परराष्ट्रमन्त्री डा. नारायण खड्काले चिनियाँ समकक्षी वाङ यीलाई सुविधाजनक अवस्थामा नेपाल भ्रमणको निम्तो दिए भने आफू पनि चीन भ्रमणमा आउने इच्छा व्यक्त गरे।
परराष्ट्रमन्त्री डा. खड्का र चिनियाँ समकक्षी वाङबीच फोन वार्ता- एकअर्का मुलुकको भ्रमण गर्ने सहमति

काठमाडौं, कात्तिक २ : परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच मंगलबार टेलिफोन वार्ता भएको छ ।

वार्तामा नेपाल र चीनबीचका धेरै द्विपक्षीय मुद्दाबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कोभिड–१९ विरुद्ध लड्न थप २० लाख डोज खोप अनुदानस्वरूप उपलब्ध गराएकामा चिनियाँ विदेशमन्त्री वाङलाई धन्यवाद ज्ञापन गरेको मन्त्रालयले जनाएको छ । उनीहरूबीच मंगलबार बिहान करिब एक घण्टा टेलिफोन संवाद भएको हो ।

संवादका क्रममा द्विपक्षीय व्यापार, विकास साझेदारी, सीमा व्यवस्थापनलगायत दुई मुलुकबीचको सम्बन्धका विविध आयामबारे वार्ता भएको थियो । नेपालमा चिनियाँ सहयोगका परियोजनाको प्रगति, आफ्नो पढाइ जारी राख्न नेपाली छात्रछात्राको चीन फिर्ति, तातोपानी र रसुवागढी नाकाबाट व्यापार बढाउन कन्टेनरको संख्या थप्ने, नियमित हवाई सेवालगायत विषयमा कुराकानी भएको मन्त्रालयले उल्लेख गरेको छ ।

वार्ताका क्रममा मन्त्री डा. खड्काले नेपालको एक चीन नीतिप्रतिको प्रतिबद्धता दोहो¥याएका थिए । चिनियाँ विदेशमन्त्री वाङले नेपाललाई थप २० डोज कोरोना खोप उपलब्ध गराउने घोषणा गरे । डा. खड्काले चिनियाँ समकक्षी वाङलाई सुविधाजनक अवस्थामा नेपाल भ्रमणको निम्तो दिए भने आफू पनि चीन भ्रमणमा आउने इच्छा व्यक्त गरे ।

प्रकाशित मिति: १७:२४ बजे, मंगलबार, कात्तिक २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्