Kathmandu Press

जनताको जीउधनको सुरक्षा नै राज्यको पहिलो दायित्व : गृहमन्त्री खाँण 

काठमाडौं, कात्तिक १ : गृहमन्त्री बालकृष्ण खाँणले संविधानको रक्षा र जनताको जीउधनको सुरक्षा नै राज्यको पहिलो दायित्व भएको बताएका छन् ।गृहमन्त्री भएपछि पहिलोपटक...
जनताको जीउधनको सुरक्षा नै राज्यको पहिलो दायित्व : गृहमन्त्री खाँण 

काठमाडौं, कात्तिक १ : गृहमन्त्री बालकृष्ण खाँणले संविधानको रक्षा र जनताको जीउधनको सुरक्षा नै राज्यको पहिलो दायित्व भएको बताएका छन् ।

गृहमन्त्री भएपछि पहिलोपटक गृह जिल्ला रुपन्देही पुगेका खाँणले नेपाली कांग्रेस रुपन्देहीले भैरहवामा आयोजना गरेको कार्यक्रममा भने, “संविधानको रक्षा र आम मानिसको जीवन रक्षा नै राज्यको पहिलो दायित्व हो ।” कांग्रेस रुपन्देही सभापति अब्दुल रज्जाकको सभापतित्वमा सम्पन्न बधाई तथा सम्मान कार्यक्रममा गृहमन्त्री खाँणले गठबन्धन दलप्रति सम्मान व्यक्त गर्दै नेपाली कांग्रेसले थप जिम्मेवारीका साथ काम गरिरहेको समेत बताए ।

उनले सबै दलको एकता र सहकार्यले नै देश विकास हुने पनि बताए । गृहमन्त्री खाँणले रुपन्देहीको विकासका लागि वर्तमान सरकारले सार्थक प्रयत्न गरिरहेको पनि बताए। रुपन्देहीको विकास जिल्लावासीका नागरिकका लागि मात्र नभई देशको विकासका लागि आधार तयार गर्ने उनको भनाइ थियो । उनले बेलहिया नाकालाई व्यवस्थित बनाउनका लागि अर्थमन्त्री, योजना आयोगका उपाध्यक्ष, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारीहरुलाई आफूले आग्रह र छलफल गरेको जानकारी दिए ।

नेपाली कांग्रेसका केन्द्रीय नेतासमेत रहनुभएका गृहमन्त्री खाँणले पार्टीको १४औँ महाधिवेशन सफल पार्नुपर्ने बताए । उनले नेपाली कांग्रेसको काँधमा जिम्मेवारी र चुनौती रहेकाले जिम्मेवारी पूरा गर्न अझ उत्तरदायी र गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याए । गृहमन्त्री खाँणलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली कांग्रेस नेता कार्यकर्ताले स्वागत गरेका थिए ।

खाँणको स्वागतमा बिहानैदेखि विमानस्थलमा हजारौैँ कांग्रेस नेता कार्यकर्ता जम्मा भए पनि मौसममा आएको फेरबदलीका कारण उहाँको फ्लाइट ढिला गरी साढे एक बजे मात्रै भैरहवा अवतरण गरेका थिए। 

प्रकाशित मिति: १९:०९ बजे, सोमबार, कात्तिक १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्