सुदूरपश्चिममा भारी वर्षाको सम्भावना : सतर्क रहन प्रहरीको आग्रह
सुदूरपश्चिम, कात्तिक १ : सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुन सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्र र होचो भूभागमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह...
सुदूरपश्चिम, कात्तिक १ : सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुन सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्र र होचो भूभागमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीले आज (सोमबार) सूचना जारी गर्दै सुदूरपश्चिम प्रदेशको मध्य तथा तराई क्षेत्रमा भारी वर्षा मापन भएको र अझै तीन दिन थप वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान रहेकाले सो क्षेत्र भएर बग्ने नदीका तटीय र डुबान हुने क्षेत्रमा बसोवास गर्ने सबै नागरिकलाई सतर्क रहन आग्रह गरेको हो।
आइतबार रातिदेखि भइरहेको वर्षाका कारण सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत जिल्लामा भित्र्याउन लागिएको धान बालीमा क्षति पुगेको छ। चाडपर्वकै समयमा खेतमा धान पाकेर पहेँलपुर भएपछि किसानलाई केही दिनदेखि धान काटेर भित्र्याउने चटारो थियो।
दुई दिनअघि काटेर खेतमै सुकाइएको धान उठाउन नपाउँदै वर्षाले क्षति पुर्याएपछि किसान चिन्तित भएका छन्। होचो भागको खेतमा काटेर सुकाइएको धानबालीमा दुई फिटसम्म पानी जमेको छ।
वर्षाका कारण भित्र्याउन लागिएको धान बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले बताए। उनले भने, ‘काटेर सुकाइएको धानबाली पूरै क्षति भएको छ।’
क्षतिको एकीन विवरण आउन भने समय लाग्ने बताइएको छ। थोरै जग्गा भएका किसानले केही दिनअघि नै बाली भित्र्याइसकेको भए पनि बढी जग्गामा खेती गर्नेले बाली भित्र्याइरहेका थिए। जिल्लामा ७० हजार ५०० हेक्टर जग्गामा बर्खे धान खेती हुने गरेको छ। वर्षासँगै कच्ची सडकहरू हिलाम्मे हुँदा आवागमन असहज भएको छ।




-1757142095.jpg)






