छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु
काठमाडौं, कात्तिक १ : चितवन, इलाम, सुनसरी, कास्की र बाँकेका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ। चितवनको भरतपुर महानगरपालिका–१६ छाहारी...
काठमाडौं, कात्तिक १ : चितवन, इलाम, सुनसरी, कास्की र बाँकेका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ।
चितवनको भरतपुर महानगरपालिका–१६ छाहारी चोकमा प्रदेश नम्बर २–०३–००१ च ११८८ नम्बरको पिकअप भ्यानको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने लक्ष्मी श्रेष्ठको छोरा ५ वर्षीय बसिम मियाको आइतबार दिउँसो मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको नयाँ मेडीकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
इलामको माइजोगमाई गाउँपालिका–२ घारेगाउँस्थित सडकमा को.१ त ६८९० नम्बरको ट्याक्टर अनियन्त्रित भइ सडकबाट करिब २५ मिटर तल खसेर आइतबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका–५ सोयाङ बस्ने ५० वर्षीया मनमाया राईको घटनास्थलमै मृत्यु भएको छ। फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ।
यस्तै, सुनसरीको कोशी गाउँपालिका–३ स्थित सडकमा प्र.३–०१–०२४ च ४२६७ नम्बरको गाडीले को.५ प ७९१६ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक रमधुनी नगरपालिका(१ सैनिमैनी बस्ने २४ वर्षीय विशाल चौधरीको मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल हुँदै न्यूरो अस्पताल बिराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २१ वर्षीय रोहित चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जा शान्ति चोकमा ग.३ च ४९२२ नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने म्याग्दी घर भएका ५५ वर्षीय शंकर बहादुर शिर्पालीको मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी, बाँकेको नेपालगंज उपमहानगरपालिका–१० गणेशमान चोकमा बा.१४ च १३८७ नम्बरको गाडीले भे.८ प ७८०४ नम्बरको मोटरसाइकल र एक साईकललाई आइतबार राति ठक्कर दिँदा साइकलमा सवार सोही ठाउँ बस्ने ४२ वर्षीय अर्जमान ईद्रिसीको मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो।
घाइते भएका मोटरसाइकल चालक र साइकल चालकको सोही नर्सिङहोमना उपचार भइरहेको छ। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।











