ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले ११ अर्ब २० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत सोमबारदेखि ट्रेजरी बिक्री गर्न लागेको हो।
काठमाडौं, कात्तिक १ : नेपाल राष्ट्र बैंकले ११ अर्ब २० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत सोमबारदेखि ट्रेजरी बिक्री गर्न लागेको हो ।
९१ दिनको २० करोड, १८२ दिनको पाँच अर्ब र ३६४ दिनको ६ अर्ब गरी जम्मा ११ अर्ब २० करोड रुपैयाँको बराबरको ट्रेजरी जारी गर्न लागेको बैंकले जनाएको छ ।
९१ दिनको ट्रेजरी आगामी ४ माघमा परिपक्व हुनेछ भने १८२ दिने ट्रेजरी ६ वैशाख र ३६४ दिने ट्रेजरी १ कात्तिक ०७९ मा परिपक्व हुनेछ । यसअघि राष्ट्र बैंकले २५ असोजमा १३ अर्ब २५ करोड रुपैयाँबराबरको ट्रेजरी जारी गरेको थियो ।
ट्रेजरीको बोलकबोल अनलाइनमार्फत सोमबार अपराह्न ३ बजे खुला हुनेछ । बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्था, संगठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अंक कबोल गर्नेलाई बैंकले मंगलबार ट्रेजरी बिल जारी गर्नेछ ।
के हो ट्रेजरी बिल
मुद्रा बजारको एक प्रमुख उपकरणको रुपमा रहेको ट्रेजरी बिल एक वर्ष वा सोभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन (एक वर्षभन्दा कम) अवधिको स्रोत जुटाउन राष्ट्र बैंकले बोलकबोलमार्फत बहुबोल मूल्य विधिअनुसार यस्तो बिल जारी गर्ने गर्छ ।
२८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमको टे«जरी बिल केन्द्रीय बैंकले जारी गर्छ । नेपालमा हाल २८ दिने ट्रेजरी बिल प्रचलनमा आएको पाइँदैन ।











