Kathmandu Press

नदीजन्य पदार्थको चरम अभाव : रोकियो विकास निर्माण

हरेक वर्ष १ असोजदेखि कञ्चनपुरको महाकाली नदीबाट नदीजन्य पदार्थ उत्खनन गर्न अनुमति दिने गरेको भए पनि यस वर्ष स्थानीय तह र निर्माण व्यवसायीबीचको विवादका कारण उत्खनन रोकिँदा विकास निर्माण प्रभावित बनेको छ ।
नदीजन्य पदार्थको चरम अभाव : रोकियो विकास निर्माण

महेन्द्रनगर, कात्तिक १ : हरेक वर्ष १ असोजदेखि कञ्चनपुरको महाकाली नदीबाट नदीजन्य पदार्थ उत्खनन गर्न अनुमति दिने गरेको भए पनि यस वर्ष स्थानीय तह र निर्माण व्यवसायीबीचको विवादका कारण उत्खनन रोकिँदा विकास निर्माण प्रभावित बनेको छ ।

महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माणलाई समेत प्रभावित गर्ने गरी भीमदत्त नगरपालिकाले नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का आह्वान गरेको दाबी गर्दै पुल निर्माण कम्पनीले उच्च अदालत दिपायल महेन्द्रनगर इजलासमा मुद्दा दायर गरेको थियो । सो मुद्दामा गत भदौ पहिलो साता अदालतले परमादेश जारी गर्दै पुल निर्माणस्थल (पाँच सय मिटर दक्षिण र एक हजार ५०० मिटर उत्तर) मा समेत उत्खनन गर्न सकिने आशयसहितको आह्वान भएको ठेक्का निवेदनको अन्तिम टुंगो नलागेसम्म सम्झौता नगर्न भनेको थियो ।

यसअघि भीमदत्तले महाकाली नदीमा पुल निर्माणस्थलको क्षेत्र छाडेर रोयल्टी उठाउने ठेक्का दिँदै आएको थियो । उता महाकाली पुल आयोजनाले पुलको ५०० मिटर दक्षिण र एक हजार ५०० मिटर उत्तर पुलको क्षेत्राधिकारभित्र पर्ने भएकाले रोयल्टी उठाउनका लागि निर्माण अवधिभर ठेक्का दिन नपाउने बताउँदै आएको छ । उक्त मुद्दाको पेशी आगामी १४ कात्तिकमा तोकिएको छ ।

पुल निर्माण कम्पनी कुमार सीएफईसी जेभीका इन्जिनियर किशोरराज पाण्डेयले पुल निर्माण नै प्रभावित हुने गरी नगरपालिकाबाट ठेक्का आह्वान भएपछि बाध्य भएर न्यायका लागि अदालत गुहारेको बताए । ‘पुलको ७० प्रतिशत काम सकिँदासम्म पुल निर्माणको क्षेत्र छोडेर विगतमा रोयल्टीका लागि नगरपालिकाले ठेक्का दियो,’ उनले भने, ‘यस वर्ष पुलमुनिबाटै उत्खनन गर्न मिल्ने आशयले रोयल्टी ठेक्का भएपछि समस्या पर्ने स्थिति देखियो ।’

पुलको ५०० मिटर दक्षिण र एक हजार ५०० मिटर उत्तरको क्षेत्र छाडेर नगरपालिकाले आफैँ पनि अमानतमा उत्खनन गरेर पछि हिसाब मिलान गर्न मिल्ने उनले दाबी गरे । ‘निर्माण कम्पनीले पूरै महाकालीको उत्खनन रोक्यो भनेर कुप्रचार गरियो,’ उनले भने, ‘अदालतमा विचाराधीन विषय भएकाले धेरै बोल्न मिल्दैन ।’ यसरी पुल निर्माण र स्थानीय तहबीच विवाद हुँदा कञ्चनपुरमा विकास निर्माण, क्रसर उद्यमी र घर निर्माण गरिरहेका स्थानीय बालुवा, गिट्टी र ढुंगाका लागि भौँतारिरहेका छन् ।

महाकालीमा उत्खनन गर्न समस्या हुँदा यहाँका ठूला विकासे आयोजनासमेत प्रभावित बनेका छन् । स्थानीय अनमोल क्रसरका सञ्चालक तेजबहादुर चन्दले महाकालीमा उत्खनन रोकिँदा स्थानीयवासी मारमा रहेको बताए । ‘अदालतले पुलको एरिया छाडेर उत्खनन सहज गर्न कुनै अवरोध गरेको देखिँदैन,’ उनले भने, ‘जनप्रतिनिधि किन जनताको समस्याप्रति बेखबरजस्तै भए भन्ने नै गम्भीर विषय हो ।’

एक महिनादेखि उत्खनन नहुँदा क्रसर उद्योग पनि समस्यामा रहेको उनले बताए । ‘महाकालीमा गिट्टी कुटेर जीविका चलाउने वर्ग पनि यसबाट धेरै प्रताडित छ,’ उनले भने, ‘विवाद सुल्झिँदै जाला तर अहिले अल्पकालीन निकास नगरपालिकाले खोज्नुपर्छ ।’

निर्माण व्यवसायी मानबहादुर चौधरीले नदीजन्य पदार्थको अभावले निर्माण प्रभावित भएको बताए । ‘हरेक दिन दर्जनौँ फोन कल बालुवाका लागि आउँछन्,’ उनले भने, ‘लुकीछिपी आउने नदीजन्य पदार्थ महँगोमा किन्न बाध्य छन् ।’ त्यसैगरी पुल निर्माण कम्पनी र भीमदत्त नगरपालिकाबीच रोयल्टी विवाद पनि छ । नगरपालिकाका नाममा देखिएको बेरुजु नगरपालिकाले पुल निर्माण कम्पनीबाट असुल्नुपर्ने भन्दै करोडौँ रकम माग गर्दै आएको छ । तर, पुल निर्माण कम्पनीले पुलको लागत ‘इस्टिमेट’मै नभएको विषयमा रोयल्टी नर्तिने दाबी गर्दै आएको छ ।

‘पुलको लागत स्टिमेट सरकारले बनाएर सोहीअनुसार हामीलाई काम गर्न दिइएको छ’ इन्जिनियर पाण्डेयले भने, ‘यो विषय पनि अदालतमा छ, अदालतको फैसला मान्य हुनेछ ।’ भीमदत्त–१३ का वडाध्यक्ष लालबहादुर शाहीले नदीजन्य पदार्थ उत्खनन नपाउँदा सर्वसाधारण समस्यामा रहेको बताए । नदीजन्य पदार्थको उत्खनन रोकिँदा महाकालीको तटीय क्षेत्रका विपन्न नागरिक निकै मारमा परेको उनको भनाइ छ । रासस

प्रकाशित मिति: ०८:१३ बजे, सोमबार, कात्तिक १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्