कर्णालीमा दसैंमा २१ दुर्घटना, ३७ को मृत्यु
दसैंको अवधिभर कर्णाली प्रदेशमा साना-ठूला गरी २१ सवारी दुर्घटना भएका छन्।
सुर्खेत, कात्तिक १ : दसैंको अवधिभर कर्णाली प्रदेशमा साना-ठूला गरी २१ सवारी दुर्घटना भएका छन् ।
ती दुर्घटनामा परी ३७ जना को मृत्यु भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । यस अवधिमा सबैभन्दा ठूलो दुर्घटना २६ असोजमा मुगुमा भएको छ । नेपालगञ्जबाट मुगु सदरमुकामतर्फ जाँदै गरेको बस छायानाथ रारा नगरपालिकाको पिनातपने खोलामा दुर्घटना हुँदा ३२ को मृत्यु हुनुका साथै १३ जना घाइते भएका थिए ।
यो दुर्घटनामा मृत्यु हुनेमध्ये छायानाथ रारा नगरपालिकाका मात्रै २९ जना थिए । सो दुर्घटनाले सो नगरपालिका पूरै शोक डुब्यो ।
प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार सुर्खेतमा भएका नौ दुर्घटनामा तीनको मृत्यु तथा २२ घाइते, रुकुम पश्चिम र जुम्लामा दुई जनाको मृत्यु, दैलेखमा भएका चार दुर्घटनामा सात घाइते, सल्यानमा दुई दुर्घटनामा १६ घाइते भएका छन् ।
मुुगुमा दुई, जाजरकोट, रुकुम पश्चिम, जुम्ला र कालीकोटमा भएका १-१ सवारी दुर्घटना भए । रासस











