Kathmandu Press

नवदुर्गा भवानीको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने क्रम जारी

काठमाडौँ, असोज ३१ : वैदिक सनातन हिन्दू धर्मावलम्बीले नवदुर्गा भवानीको प्रसादस्वरूप मान्यजनबाट रातो टीका र समृद्धिको प्रतीक जमरा लगाउने क्रम आज पनि जारी छ।आश्विन...
नवदुर्गा भवानीको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने क्रम जारी

काठमाडौँ, असोज ३१ : वैदिक सनातन हिन्दू धर्मावलम्बीले नवदुर्गा भवानीको प्रसादस्वरूप मान्यजनबाट रातो टीका र समृद्धिको प्रतीक जमरा लगाउने क्रम आज पनि जारी छ।

आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीदेखि शुरु भएको यो क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन सबै (अखिल) बलि पूर्ति नभएसम्म जारी रहन्छ।

यस वर्ष कात्तिक २ गते मङ्गलबार कोजाग्रत पूर्णिमा परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। त्यस दिनसम्म देवीको प्रसाद लगाउनु शास्त्रसम्मत हुने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए।

कोजाग्रत पूर्णिमाका दिन रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् नेपालीको महान् पर्व बडादसैँ समाप्त हुन्छ।

बडा दसैँ मनाउन काठमाडौँ उपत्यकाबाहिर गएका मानिस राजधानी प्रवेश गर्ने क्रम पनि बढ्न थालेको छ। योसँगै सुनसान बनेको काठमाडौँ उपत्यकामा चहलपहल बढ्न थालेको छ।

टाढाटाढा आफन्त एवं मान्यजन हुनेहरु अहिले पनि नवदुर्गाको प्रसाद ग्रहणका लागि गइरहेको देख्न सकिन्छ।

प्रकाशित मिति: १८:१२ बजे, आइतबार, असोज ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्