Kathmandu Press

दिल्लीमा विदाइ भेटमा व्यस्त राजदूत आचार्य

सरकारले फिर्ता बोलाएका भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य नयाँदिल्लीमा विदाइ भेटमा व्यस्त छन्।
दिल्लीमा विदाइ भेटमा व्यस्त राजदूत आचार्य

काठमाडौं, असोज ३१ : सरकारले फिर्ता बोलाएका भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य नयाँदिल्लीमा विदाइ भेटमा व्यस्त छन्।

उनले शनिबार भारतका विदेश राज्यमन्त्री भी मुरलीधरनसँग विदाइ भेट गरे । गत मंगलबार उनले भारतका विदेश सचिव हर्षबद्र्धन शृंगलासँग विदाइ भेट गरेका थिए । उनका यी विदाइ भेट स्वदेश फर्किनुअघिका शिष्टाचार भेटवार्ता हुन् ।

राज्यमन्त्री मुरलीधरनले राजदूत आचार्यसँग दुई छिमेकीबीचको बहुआयामिक सम्बन्ध र त्यसलाई अझ उचाइ दिन भएका पछिल्ला पहलहरू बारे छलफल भएको बताएका छन् । उनको कार्यकालमा नेपाल–भारत सम्बन्धलाई मजबुत बनाउन भएका प्रयासको आफूले सराहना गरेको राज्यमन्त्री मुरलीधरनले उल्लेख गरेका छन् ।

यस्तै, विदेश सचिव शृंगलाले राजदूत आचार्यको कार्यकालमा दुई मुलुकबीचको घनिष्ठ र बहुआयामिक सम्बन्धलाई अझ अगाडि बढाउन योगदान पुगेको बताएका छन् ।

सरकारले ५ असोजमा एमाले अध्यक्ष केपी ओली नेतृत्वको पूर्ववर्ती सरकारले राजनीतिक नियुक्ति दिएका १२ राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । आचार्य पनि उनीहरूमध्येकै हुन् ।

प्रकाशित मिति: १४:०१ बजे, आइतबार, असोज ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्