Kathmandu Press

असनमा तुलाधर समुदायले मनाए दसैं

असन क्षेत्रका तुलाधर समुदायले मनाउने शनिबार विशेष कार्यक्रम गरी दसैं मनाएका छन् । प्रत्येक वर्ष आश्विन शुक्ल एकादशीका दिन तुलाधर समुदायले दसैं मनाउँछन् ।
असनमा तुलाधर समुदायले मनाए दसैं

काठमाडौं, असोज ३० : असन क्षेत्रका तुलाधर समुदायले मनाउने शनिबार विशेष कार्यक्रम गरी दसैं मनाएका छन् । प्रत्येक वर्ष आश्विन शुक्ल एकादशीका दिन तुलाधर समुदायले दसैं मनाउँछन् ।

काठमाडौं महानगरपालिका–२७ मा पर्ने असनस्थित तुलाधर समुदायको कुल देवताको घरमा भेला भएर उनीहरूले दसैं मनाएका हुन् । प्रत्येक वर्ष सो समुदायले खड्गजात्रा निकालेर त्यस आसपास क्षेत्रमा बाजागाजासहित परिक्रमा गर्ने गरेकामा कोरोना महामारीका कारण यसपटक जात्राको कार्यक्रम स्थगन गरेका थिए ।

कुभिन्डोमा दैत्यको चित्र बनाएर प्रतीकात्मक रूपमा त्यसलाई काटी आसुरी शक्तिको नाश गरेर दसैंको टीका लगाउने परम्परा छ । शनिबार आयोजित कार्यक्रममा कुभिन्डोमा बालकदेखि परिपक्व मानिसले मार हानेर आसुरी शक्तिमाथि विजय प्राप्त भएको घोषणा गरिएको थियो ।

तुलाधर समाजभित्र सबैभन्दा कनिष्ठ बालकलाई नाइके बनाएर नगर परिक्रमा गर्ने चलन छ । आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाउने विश्वासका साथ यस किसिमको विधि अवलम्बन गरेको उद्यमी ज्ञानेन्द्ररत्न तुलाधरले बताए । सधैँजसो व्यापारिक कार्यमा व्यस्त रहने यस क्षेत्रका स्थानीयवासीले एकादशीका दिन अग्रजका हातबाट टीका तथा प्रसाद ग्रहण तथा आफन्त, नातागोता बोलाएर रमाइलो गर्ने गर्छन् ।

सम्राट अशोकले कलिङको युद्धमा लाखौँ मानिसको नरसंहार गरेको घटनासँग जोडिएको यो जात्रालाई हिन्दू र बौद्ध धर्मावलम्बीको साझा संस्कृतिका रूपमा मिश्रण गरिएको छ । बौद्ध संस्कृतिमा विश्वास गर्ने यो समुदायले घटस्थापनाका दिन विधिपूर्वक जमरा रोपेर विभिन्न देवी–देवताको पूजा आराधना गरेका थिए ।

प्रकाशित मिति: १५:५६ बजे, शनिबार, असोज ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्