रुकुम पश्चिममा प्रहरी र मदिरासेवन गरेका युवाबीच झडप
काठमाडौं, असोज ३० : रुकुम पश्चिममा युवाको समूह र प्रहरीबीच झडप भएको छ। मदिराले मातेका युवालाई नियन्त्रणमा लिन खोज्दा झडपमा परेर एक प्रहरी सहायक...
काठमाडौं, असोज ३० : रुकुम पश्चिममा युवाको समूह र प्रहरीबीच झडप भएको छ। मदिराले मातेका युवालाई नियन्त्रणमा लिन खोज्दा झडपमा परेर एक प्रहरी सहायक निरीक्षक घाइते भएका छन्।
युवाको ढुंगा प्रहारबाट प्रहरी सहायक निरीक्षक कोमलराज बोहरा गम्भीर घाइते भएका हुन्। उनको टाउकोमा चोट लाग्नुका साथै तल पट्टीको तीन वटा दाँत झरेको तथा माथि पट्टीको एउटा दाँत हल्लिएको छ।
घाइते बोहोरालाई उपचारको लागि शुक्रबार राति नै रुकुम पश्चिम अस्पताल लगिएको थियो।
प्राथमिक उपचार पछि उनलाई बाँकेस्थित कोहलपुर मेडिकल कलेज पठाइएको थियो। त्यहाँ पनि उपचार सम्भव नभएपछि शनिबार उनलाई काठमाडौं पठाइएको छ।
साथै, प्रहरी हवल्दार कालिबहादुर बोहरा, प्रहरी जवान लक्ष्मण गुरुङ र अन्य चार जना प्रहरी घाइते भएका छन्।
प्रहरीले ढुंगामुढा गरेको अभियोगमा ६ युवालाई नियन्त्रणमा लिएको छ।
साथै, अन्य दुई जना फरार रहेका य्ुवालाई प्रहरीले खोजी गरिरहेको जनाएको छ।











