Kathmandu Press

म्याग्दीमा ११ जलविद्युत आयोजना निर्माणाधिन

म्याग्दी, असोज २७ : म्याग्दीमा तीन सय ५३ मेगावाट क्षमताका ११ वटा जलविद्युत आयोजना निर्माण भइरहेका छन्। विद्युत विकास विभागका अनुसार ४९ मेगावाट...
म्याग्दीमा ११ जलविद्युत आयोजना निर्माणाधिन

म्याग्दी, असोज २७ : म्याग्दीमा तीन सय ५३ मेगावाट क्षमताका ११ वटा जलविद्युत आयोजना निर्माण भइरहेका छन्। विद्युत विकास विभागका अनुसार ४९ मेगावाट क्षमताका तीन वटा जलविद्युत आयोजना सञ्चालनमा आइसकेको म्याग्दीमा ७००.८३ मेगावाट क्षमताका १७ आयोजनाले निर्माणका लागि अनुमति लिएका छन्। 

कूल ३४६.०३ मेगावाट क्षमताका ६ वटा आयोजना निर्माणको तयारी र प्रक्रियामा छन्। त्यस्तै ८३.५ मेगावाट क्षमताका तीन वटा आयोजनाले निर्माणका लागि अनुमति मागेका छन्। जिल्लाभर १४०.१३ मेगावाट क्षमताका १४ वटा आयोजना सर्वेक्षणको क्रममा छन्। 

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र केसीले २२० केभी क्षमताको दाना सवस्टेशन निर्माण पुरा र १३२ केभी क्षमताको डाडाखेत–राहुघाट सवस्टेशन तथा प्रसारण लाइन निर्माणको तयारीसँगै कालीगण्डकी, म्याग्दी र राहुघाट तथा सहायक नदीहरुमा जलविद्युत आयोजना निर्माणले तिब्रता पाएको बताए। 

सबैभन्दा बढी १० वटा जलविद्युत आयोजना रहेका अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ४ नारच्याङमा ४२ मेगावाट क्षमताको म्रिस्तीखोला, ५ मेगावाटको घलेम्दीखोला र २ मेगावाट क्षमताको तातोपानी साना जलविद्युत आयोजना सञ्चालनमा छन्। 

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले रघुगङ्गा गाउँपालिकामा ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना निर्माण गरिरहेको छ। हाइड्रो इम्पाएर प्रालीले धवलागिरि गाउँपालिकामा २० मेगावाट क्षमताको अप्पर म्याग्दी जलविद्युत आयोजना निर्माणका लागि पहुँचमार्ग खन्न थालेको छ। 

म्याग्दी हाइड्रोपावर लिमिटेडले अन्नपूर्ण गाउँपालिका निर्माण गरिहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको हालै सुरुङ निर्माण सकिएको छ। निलगिरि हाइड्रोपावर लिमिटेडले अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ३८ मेगावाट क्षमताको निलगिरि र ६२ मेगावाट क्षमताको निलगिरि खोला दोस्रो (क्यासकेड) जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

तुदी पावर कम्पनी प्रालिले रघुगङ्गा गाउँपालिकामा ३७ मेगावाट क्षमताको राहुघाट मङ्गले र ४८.५ मेगावाट क्षमताको अप्पर राहुघाट जलविद्युत आयोजना निर्माणको काम एकै साथ गरिरहेको छ। ह्युम कन्सल्टले अन्नपूर्ण गाउँपालिकाको नारच्याङमा ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत आयोजना निर्माणका लागि पहुँचमार्ग निर्माण सकेको छ। संयुक्त उर्जा प्रालिले रघुगङ्गा गाउँपालिकाको कुइनेमङ्गलेमा २१.३० मेगावाट क्षमताको ठुलोखोला जलविद्युत आयोजनाको निर्माण शुरु गरेको छ।

धौलागिरि कालिका हाइड्रो लिमिटेडले मालिका गाउँपालिकामा २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाको तीन वर्षअघि शिलान्यास गरेपनि गति लिन सकेको छैन्। रिसर्च एण्ड डेभलपमेन्ट गु्रपले अन्नपूर्ण गाउँपालिका ३ दानामा ४ मेगावाट क्षमताको रुप्सेखोला जलविद्युत आयोजना निर्माणको अनुमति पाएपनि रुप्से झरनाको सौन्दर्यमा असर पर्ने भन्दै स्थानीयबाट विरोध भएपछि काम सुरु गरेको छैन्। 

अन्नपूर्ण गाउँपालिकाको नारच्याङमा कालीगण्डकी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको १६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत आयोजना चिनियाँ लगानीमा निर्माणको तयारीमा रहेको छ। हाइड्रो सपोर्ट प्रालिले अन्नपूर्ण गाउँपालिकामा ५३.५३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत आयोजना निर्माणको अनुमति लिएको छ। 
 
अप्पर म्याग्दी हाइड्रोपावर लिमिटेडले धवलागिरि र मालिका गाउँपालिकामा ५३.५० मेगावाट क्षमताको अप्पर म्याग्दी पहिलो जलविद्युत आयोजना निर्माणको तयारी गरेको जनाएको छ। एभरेष्ट इनर्जी एण्ड इन्फ्रास्ट्रक्चर प्रालिले धवलागिरि गाउँपालिकामा १४.७० मेगावाट क्षमताको मुदीखोला र हाइड्रो भिलेज प्रालीले ५७.३० मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत आयोजना निर्माण गर्न मलेसियन कम्पनीसँग हालै लगानी सम्झौता र निर्माण कम्पनी छनौट गरेको छ।  

त्यस्तै ५८ मेगावाट क्षमताको तिप्ल्याङ कालीगण्डकी, ५.५ मेगावाटको बगरखोला र २० मेगावाट क्षमताको कुनबान खोला जलविद्युत आयोजनाले निर्माणका लागि अनुमति मागेको विद्युत विकास विभागले जनाएको छ।

प्रकाशित मिति: १९:२८ बजे, बुधबार, असोज २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्