मिथिलामा हराउँदै दशहराको मौलिकता
बडादसैंमा घटस्थापनाकै दिनदेखि बस्ती–बस्तीमा बज्ने ‘ढोल’ अब मिथिलामा हराएको छ। नवरात्र अवधिमै मिथिलानी (मिथिलाका नारी)ले दुष्टात्मा भगाउन खेल्ने ‘झिझिया’ नृत्य देखिन छाडेका छन्।
महोत्तरी, असोज २७ : बडादसैंमा घटस्थापनाकै दिनदेखि बस्ती-बस्तीमा बज्ने ‘ढोल’ अब मिथिलामा हराएको छ । नवरात्र अवधिमै मिथिलानी (मिथिलाका नारी)ले दुष्टात्मा भगाउन खेल्ने ‘झिझिया’ नृत्य देखिन छाडेका छन् ।
मिथिला क्षेत्रमा बोलीचालीमा ‘दशहरा’ भनिने बडादसैं पर्वका पुराना लोक परम्परा केही वर्षयता हराउँदै गएका हुन् । दशहारा (बडादसैं) सुरु हुनासाथ नगर–गाउँ बस्तीमा बज्ने ढोल (नगरा) र बस्ती–बस्तीमा गरिने झिंझिया नृत्य देखिन छाडेपछि राष्ट्रिय महत्त्वको यो पर्वमा स्थानीय लोक परम्परा देखिन छाडेको हो ।
ढोल बज्न छाडेर बस्ती-बस्तीमा झिझिया पनि हराउँदै गएपछि पाका पुस्ताका मैथिललाई दशहारा आएजस्तो लागेको छैन । ‘कतै ढोल बजेको सुनिँदैन, न झिझिया नाच नै देखिन्छ,’ भंगाहा नगरपालिका–४ रामनगरका ८५ वर्षीय रामनन्दन महतोले भने, ‘दसैं लागेजस्तो नै बुझिन्न ।’ बस्तीमा ढोल नबजेको र राति झिझियाको लय सुन्न नपाइएपछि दसैं लागेको अनुभूति नै नभएको उनको भनाइ छ ।
महोत्तरीसहितका मिथिलामा दसैं पर्वको नवरात्र सुरु भएसँगै बस्तीका घरैपिच्छे ‘दसैं के ढोल’ भन्दै चमार नाइकेले बजाउने ढोल र राति महिलाले सामूहिक रूपमा गीत गाउँदै नाचिने झिझिया देख्न छाडिएपछि रामनन्दनजस्तै यस भेगका सर्वसाधारणले चिन्ता जनाएका छन् । ‘बाबु, पुराना परम्परा हराउँदै गए, अब चिन्ता लाग्दैछ । अब हाम्रो के पहिचान रहला !’ जलेश्वर नगरपालिका–५ चौडिया बस्तीकी दानादेवी नेपालीले भनिन्।
घटस्थापनाकै दिन बस्तीका चमार जातिका अगुवा ठूलो आवाजको नगरा बजाउँदै ‘दसैं के ढोल’ भनेर कराउँदै हिँड्दा स–साना बालबालिका उनीहरूका अघिपछि झुम्मिने गरेको अब दन्त्यकथाजस्तै भएको बुढापाका बताउँछन् । यस्तै, नवरात्र सुरु भएकै दिन मिथिला क्षेत्रमा घन्किने झिझिया गीत र त्यसको तालमा जादुमय तरिकाले नाच्ने नृत्यांगनाको समूह पनि अब पातलिँदै गएका छन् । ‘तोहरे लागि झिझिया बनैली हो बरमबाबा’को रागले सुनसान रातमा बस्तीका सडक हुँदै ग्रामदेवता (ब्रह्मस्थान) स्थलमा पुगेर बडादसैंमा मिथिलानीले सुरिलो भाखामा गाउँदै फनफनी आफूलाई घुमाएर नाचेको देखाउने यो प्राचीन तान्त्रिक नृत्य अब देखिन छाडेपछि बूढापाका मैथिलको चिन्ता बढेको हो ।
गाउँनगर बस्तीका पाका चमार जातिका अगुवा बुढ्याँइले हिँडडुल गर्न छाडेर नयाँ पुस्ताका चमार युवाले पुरानो थिति नअगालेपछि अब दसैंको ढोल बज्न छाडेको हो । ‘के गरौँ हजुर, जहिलेसम्म शरीरले साथ दियो, रमाइलो मानेर ढोल बजाउँथे, अब छोरा–नाति ढोल बजाउन चाँहदैनन्,’ भंगाहा–४ रामनगरकै चमारटोलका ७० वर्षीय रघुवर राम चमारले भने । दलित समुदायभित्रको चमार जातिका नयाँ पुस्ताका किशोर र युवा रोजगारीका लागि भारत र अन्य खाडी मुलुक जान थालेपछि पुख्र्यौली रितिथिति र पेशा थाम्ने कुरा हराउँदै गएको चमार जातिका अगुवा बताउँछन् ।
दसैंमा झिझिया नृत्य मिथिला क्षेत्रको प्रमुख आकर्षण रहँदै आएको थियो । ‘दसैं लागेपछि प्रत्येक रात बस्तीका महिला सहभागी हुने झिझिया नृत्य पछिल्ला केही वर्षयता सुनिन, देखिन छाडेको छ,’ सम्सी गाउँपालिकाका दीपनारायण साहले भने । पछिल्ला केही वर्षयता गाउँ–नगर बस्तीमा डिस्को बाजासँगै कर्कस स्वरमा बजाउन थालिएको गीत र त्यसको तालमा उफ्रँदै नाच्ने जमातप्रति साहको चित्त दुखाइ छ । ‘हाम्रो आफ्नै परम्परामा मनोरञ्जनका साधन र विधि छन्, हाँस्न, खेल्न तिनको अनुसरण गरे त भयो नि,’ तत्कालीन संविधानसभा सदस्यसमेत रहेका साहले भने, ‘तर, अब हाम्रा मनोरञ्जनका विधि सबै छोडिँदै गएका छन् ।’
दसैं लागेपछि अघि सत्य युगमा देवी दुर्गाबाट पराजित भएका दुष्टात्मा टोल बस्तीमा प्रवेश गरेर सर्वसाधारणलाई दुखः दिन सक्ने विश्वासका आधारमा यस्ता आत्मालाई प्रवेश गर्न नदिन मिथिलानीले राति जाग्राम रही ग्राम देवतालाई पुकारा गर्दै गाउने गीत र नृत्यलाई ‘झिझिया’ भनिन्छ । रासस











